गोरखा समाचारदता
चैत्र १३ गते । गोरखा नगरपालिकामा ६८.४ प्रतिशत लाभग्राहीले घर निर्माण सम्पन्न गरी तेश्रो किस्ता लिएका छन् । कुल १० हजार ८८ लाभग्राही रहेको यहाँ ७ हजार ८ भूकम्प पिडितले तेश्रो किस्ता लिएका हुन । यसैगरी ९ हजार १ सय १५ घरधुरीले पहिलो र ७ हजार ८ सय ६६ लाभग्राहीले दोश्रो किस्ता बुझेका छन् । प्रतिशतमा हेर्दा ९२.७५ प्रतिशतले पहिलो र ८७.३१ प्रतिशत लाभग्राहीले दोश्रो किस्ता लिएको देखिन्छ । ‘यो तथ्याङ्कक सन्तोषजक नै हो’ गोरखा नरपालिकाका सूचना अधिकारी ई. प्रकाश ढकालले भने ‘पुनःनिर्माणको कामलाई थप प्रभाकारी बनाउन हामी लागिपरेका छौं ।’
२०७२ बैशाख १२ गते गएको बिनाशकारी भूकम्पका कारण १० हजार भन्दा बढि घर भत्किएको गोरखा नगरपालिकाले पुर्ननिर्माणको कामलाई विशेष जोड दिएको छ । स्थानीय निर्वाचन पछि जनप्रतिनिधिहरुको रोहवरमै हरेक वडामा पुनःनिर्माणको गतिविधि अगाडी बढाएको प्रमुख राजनराज पन्तले जानकारी दिए । ‘अहिले हामीले जनप्रतिनिधिको प्रयोग र इन्जिनियर÷प्राविधिकहरुको व्यवस्थापन गरेर घर निर्माणलाई जोड दिइरहेका छौ’ उनले भने ‘घर नबनाउनेले ५० हजार फिर्ता गर्नुपर्छ भन्ने म्यासेज सञ्चार गरेपछि राम्रो प्रगति देखिएको छ ।’
भूमीहिन भूकम्प पिडित, गुनासो फारम भरेकाहरु, राजमार्ग क्षेत्रका पिडितहरुको घर बनाउन नीतिगत समस्या रहेको उनले बताए । प्रवलीकरण सम्बन्धी कार्यविधि आउन ढिलाई हुँदा त्यो विचमा बनेका घरहरुलाई मादण्डमा लैजान कठिन भएको छ । ‘घर बनाएपछि कार्यविधि आयो प्राधिकरणले समयमै काम गरिदिएन, प्राविधिकहरुलाई ट्रेनिङ भर्खरभर्खर मात्र भएको छ’ उनले भने ‘त्यसैले पनि हाम्रो कार्य प्रगतीलाई अलि कम देखिएको हो ।’ गुनासो सुनुवाई, भूमीहिनका लागि घडेरी उपलब्ध गराउने लागयतका विभिन्न कुराहरुमा पुनःनिर्माण प्राविधिकरणसँग समन्वय भइरहेका मेयर पन्तको भनाई छ ।
नगर स्तरिय गुनासो व्यवस्थापन समितिको बैठक बसेर घर अनुदान नपाएकाहरुको तथ्याङ्क संकलन गरी प्राधिकरणमा पठाइएको छ । ‘राजमार्गको २५ मिटर आसपासमा अहिले पनि समस्या छ, गुनासो सुनुवाईको लागि पनि प्राधिकरणमा ताकेता गरिराखेका छौ’ उनले भने ‘यी सबै समस्याहरुको हल गरेर निजि आवास पुर्ननिर्माणको काम छिटो सक्ने हाम्रो योजना छ ।’ आर्थिक वर्ष २०७५÷०७६ मा निजि आवास पुनःनिर्माणको सम्पूर्ण काम सक्ने लक्ष्य रहेको उनले बताए ।




















