गोरखा समाचारदाता
सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिवन्ध नलगाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । गोरखाको १२ किलोमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको संबिधान विरोधी गतिविधिको सरकारले नियन्त्रण गर्न खोजेका दाबी गरेका हुन् । ‘प्रधानमन्त्रीले सार्वजानिक रुपमै वार्ताका लागि आब्हान गरिरहनु भएको कुरा सञ्चारमाध्यम आइरहेको छ’ उनले भने ‘सरकारले गरेको आधिकारिक निर्णयमा पनि प्रतिवन्ध भन्ने शब्द उल्लेख भएको छैन्, यो बाहिरी हल्ला मात्र हो ।’ सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाएको चर्चा चलिरहेका बेला नेता श्रेष्ठले नरम धारणा सार्वजानिक गरेका छन् ।
संबिधान विरोधी तत्वहरुलाई नियन्त्रण गर्ने सरकारको दायित्व भएको भन्दै उनले अपराधिक क्रियाकलापको नियन्त्रणका लागि नेकपा नेतृत्वको सरकार प्रतिवद्ध रहेको बताएका छन् । सोही अनुरुप तराईमा सिके रावतसँग सहमती गरिएको भन्दै नेता श्रेष्ठले विप्लवलाई पनि हतियारको राजनिति छोडेर शान्तिपूर्ण गतिविधि सञ्चालन गर्न आग्रह गरेका छन् ।
संबिधानलाई कार्यान्वयन प्रक्रियालाई अवरोध गर्नेे, सामाजिक आर्थिक रुपान्तरण र सम्बृद्धिको लक्ष्यलाई पुरा गर्न नदिने कार्यलाई प्रशासनिक ढङ्गले रोक्न खोजिएको उनको भनाई छ । ‘अब अधिकार प्राप्तीका लागि हतियार उठाउनु पर्ने अवस्था छैन’ उनले भने ‘शान्तिपूर्ण बाटोबाट पनि हामी समाजवादको लक्ष्यमा पुग्छौं, त्यसैले उहाँहरु सच्चिनु आवश्यक छ ।’ विप्लवले सञ्चालन गरेका गतिविधिहरु राजनितिक हुन नसकेको उनको टिप्पणी छ । लामो राजनीतिक सर्घषबाट प्राप्त उपलब्धीलाइ खोस्ने प्रयास कुनै हालतमा सफल हुन नदिने प्रवक्ता श्रेष्ठले बताएका छन् । ‘उहाँहरु वार्ताका लागि तयार हुनुप¥यो’ सरकार जहिले पनि वार्ता गर्न तयार छ ।’
फरक प्रशङ्गमा बोल्दै उनले सरकारको कामबाट पुर्ण रुपमा सन्तोष मान्न सक्ने अवस्था नरहेको बताए । दुई तिहाई बहुमतको वर्तमान सरकार सामू जनताका थुप्रै अपेक्षाहरु रहेको भन्दै उनले सोही ढङ्गले सरकार सञ्चालन हुनुपर्ने तर्क गरेका छन् । ‘यो सरकारलाई हरहालतमा सफल पार्नुपर्छ’ उनले भने ‘त्यसका लागी हामी सबै प्रयत्नशिल छौं ।’


