गोरखा समाचारदाता
गोरखा दरबार पुनः केन्द्र सरकार मातहत रहने भएको छ ।यस अघि स्थानीय सरकार मातहत राख्ने चर्चा भएको गोरखा दरबार, मनकामना मन्दिर नुवाकोट दरबार हेरचाह कार्यालय तथा संग्रहालयलाई केन्द्र सरकार मातहत राख्ने निर्णय भएको छ ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले दुबै संग्रहालय सहित मनकामना क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समितिलाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरिएको जानकारी दिए ।
यसअघि यी निकायलाई स्थानीय तह अन्तर्गत राखिएको थियो । मन्त्री बास्कोटाका अनुसार पाल्पा दरबार संग्रहालयलाई प्रदेश नं ५ अन्तर्गत र शहीद स्मारक प्रकृति प्रतिष्ठान, थानकोटलाई प्रदेश नं ३ अन्तर्गत राखी व्यवस्थापन गर्ने निर्णय पनि भएको छ ।
यसैगरी, सरकारले नेपाल–भारत व्यापार र पारवाहन सम्बन्धी पत्र आदानप्रदान लगायतका विषयमा छलफल गर्न सहसचिव रविशंकर सैजुको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गरेको छ । उक्त टोलीले आफ्नो काम सुरु गरिसकेको प्रवक्ता बास्कोटाले जानकारी दिए ।


