मोहसिन अलि मियाँ/गोरखा
राष्ट्रिय सभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले खेलकुद क्षेत्रबाट राजनितिककर्मीले धेरै कुरा सिक्न जरुरी रहेको बताएका छन् । बुधबार पालुङ्टारमा आयोजित लिगलिग पालुङ्टार मेयर कप प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै पाण्डेले खेलकुद क्षेत्रमा जस्तै अनुशासनको नियम पालना गरे देशमा शुसासन कायम हुने बताएका हुन् । ‘खेलकुदले भावनात्मक रुपमा आत्यिमता बढाउछ, अनुशासनमा बाध्छ’ उनले भने ‘तर राजनितीमा त्यस्तो हुदैन, न अनुशासन, न भावनाका कुरा, अब हामीले खेलकुदबाट धेरै कुरा सिक्न जरुरी छ ।’
खेलाडीहरु कुनै राजनितीक दल, जात, धर्म, भुगोल कुनै हिसाबले समेत विभाजन नहुने बताउदै नेता पाण्डेले खेलकुद जस्तै एकता राजनितीमा समेत आवस्यक रहेको बताए । ‘खेलमा न धर्म, न भुगोल, न जात, न कुनै पोल्टिकल पार्टी कुनै रुपमा पनि विभाजन हुदैन, एकता हुन्छ, आफ्नोपन हुन्छ, शुसासन हुन्छ’ उनले थपे ‘देश विकासका लागि राजनितीमा पनि यस्तै एकताको खाँचो छ, आत्मियताको आवस्यकता छ ।’
पालुङ्टार नगरपालिकाका प्रमुख दिपकबाबु कडेंलको अध्यक्षतामा भएको समापन कार्यक्रममा गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेल, पालुङ्टार नगरपालिकाकी उपप्रमुख पम्फा बसेल लगायतले बोलेका थिए ।




















