नरेन्द्र ढकाल/गोरखा
चैत्र ६ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पार्टी एकता प्रक्रिया फेरी अन्यौलमा परेको छ । केही दिन अघि प्रदेश इन्र्चाज एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितीमा बसेको बैठकले एकता प्रक्रियालाई अगाडी बढाउने निर्णय गरेको मसि नसुक्दै फेरी अन्यौलता देखिएको एक नेताले बताएका छन् । ‘४ गते बैठक बसेर स्थानीय तह र भातृ संगठनको विषय टुंग्याउने निर्णय भएको थियो’ नाम नबताउने शर्तमा ती नेताले भने ‘तर ४ गते बैठक बस्न सकेन ।’
गत फागुन २४ गते बसेको प्रदेश कमिटीको बैठकले ११ वटै जिल्लामा संयन्त्र बैठक गरी मातहतका स्थानीय तहको एकता प्रक्रियालाई अगाडी बढाउने निर्णय गरेको थियो । जसअनुसार गएको शनिवार प्रदेश इञ्र्चाज एवं मुख्यमन्त्री गुरुङ, प्रदेश अध्यक्ष हितराज पाण्डे, केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकास मन्त्री रामशरण बस्नेत लगायतको शिर्ष नेताहरुको उपस्थितीमा बसेको बैठकले ४ गते सोमबार पुनः बैठक बसेर एकता प्रक्रियाको काम अगाडी बढाउने निर्णय गरेको थियो ।
‘बैठक बसेको सूचना मलाई पनि छैन’ प्रदेश अध्यक्ष हितराज पाण्डेले भने ‘उक्त बैठक जिल्ला संयन्त्र हो, त्यो कुरा हामीलाई भन्दा उहाँहरुलाई नै थाहा होला ।’ तर पार्टीको तल्लो तहसम्मको संगठन एकिकरणको गृहकार्य सुरु भइसकेको उनले दाबी गरेका छन् । ‘जिल्ला र स्थानीय तह सबैमा संयन्त्र बनाएका छौ’ अध्यक्ष पाण्डेले भने ‘उहाँहरुले आफ्नो तबर लागि रहनुभएको छ ।’ केहि दिनमा आन्तरिक संगठन बिस्तार, लेवि ब्यवस्थापन, सदस्यता वितरण तथा ब्यवस्थापन, बैंक खाता, दुवै पार्टीसँग रहेको सम्पत्ति संकलन एवं ब्यवस्थापनको अभियान सुरु हुने उनको भनाई छ ।
नेता कृष्ण धितालको आमा बिरामी परेर उपचारका लागि काठमाण्डौ गएकाले बैठक बस्न नसकेको नेकपा श्रोतले बताएको छ । पूर्व माओवादी र एमालेका इञ्चार्ज सहित पदाधिकारी रहेको जिल्ला संयन्त्र निर्माण गरिएको थियो । आलोपालो अध्यक्षता गर्ने सहमती अनुसार पहिलो पटक रामशरण बस्नेत र गत २ शनिवार गते कृष्ण धितालको अध्यक्षता बैठक बसेको थियो । ४ गते बोलाइएको बैठकमा अध्यक्षता गर्ने पालो बस्नेतको भएपनि उनको कार्यव्यस्थताका कारण धितालले गर्ने सहमती भएको नेकपा श्रोतले बताएको छ ।
‘उहाँको पनि आमा अकस्मात बिरामी पर्नुुभयो’ संयन्त्र सदस्य एवं एमालेका पूर्व अध्यक्ष प्रेम गुरुङले भने ‘अध्यक्षता गर्ने व्यक्ति नै नभएपछि बैठक बस्ने कुरै भएन ।’ पहिलो बैठक बसेको ६ महिना पछि दोश्रो बैठक बसे पनि कुनै ठोस निर्णय गर्न नसकेको नेता कार्यकताले आलोचना गरेका छन् । ४ गते बस्ने भनिएको बैठक पनि बस्न नसेकपछि थप आशंका पैदा भएको छ ।
दुई पार्टी एकता भएको लामो समय भएपनि जिल्लामा भने एकताको प्रक्रिया अझै सुरु भएको छैन । जिल्ला कार्यसमितिको सदस्य पद टुंग्याएको दाबी गरेपछि नाम सार्वजानिक हुन सकेको छैन । पदाधिकारीहरुको चयनका विषयमा भने छलफल नै नभएको नेताहरुको भनाई छ । ‘पदाधिकारी चयन गर्ने जिम्मा केन्द्रिय कार्यसमितिलाई छ, यसबारेमा यहाँ छलफल हुने कुरा भएन’ संयन्त्र सदस्य गुरुङले भने ‘स्थानीय तहको हकमा अधिकाशंमा सर्बसम्मत जस्तै छ । केहीमा मिलाउनु पर्ने छ ।
साथीहरु लागि रहनुभएको छ ।’ सिरानचोक, अजिकोट लगायतका स्थानीय तहमा सर्वसम्बत निर्णय हुने भन्दै उनले छिट्टै नेकपाको पार्टी एकताले पूर्णता पाउने दाबी गरेका छन् ।


