- आज होली
गोरखा समाचारदाता
चैत्र ६ गते । होली पर्वको मौका छोपी हुन सक्ने कुनै अवाञ्छित क्रियाकलापलाई उन्मुक्ति नदिने प्रशासनले चेतवानी दिएको छ । होली पर्वलाई मर्यादित र शान्तिपूर्ण ढंगले मनाउन आग्रह गरिएको छ । ‘होलीलाई शान्तीपूर्ण ढङ्गले मर्यादित भएर मनाउन हामीले आग्रह गरिसकेका छौ’ जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र नेपालले भने ‘यदी कसैले अवाञ्छित क्रियाकलाप गर्छ भने ऊ कानून अनुसार कारवाहीमा पर्छ ।’
अरुको इच्छा विपरित अथार्त जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने, हेलमेट नलगाई मोटरसाइकल चलाउने, मादक पदार्थ÷ नसालु पदार्थ खाएर सवारी चलाउने, जथाभावी होहल्ला गर्ने, झै–झगडा गर्ने सबैलाई कारवाही गर्ने प्रहरी प्रशासनको तयारी छ । जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय दुबैले सूचना जारी गर्दै बुधबार पहाडी जिल्लामा मनाइने होली पर्वलाई सांस्कृतिक सद्भावका साथ मनाउन आग्रह गरेको हो ।
आज गोरखा सहित पहाडी जिल्लाहरुमा हर्सोल्लाषका साथ फागु पुर्णिमा अर्थात होली मनाइदै छ । होली नेपाली तथा भारत लगायत हिन्दू राष्ट्रहरुमा मनाईने प्रमुख चाड हो । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएकी थिइन र त्यही दिनदेखि होलीका पर्व पर्दापण भएको मानिन्छ । वसन्त ऋतुमा फाल्गुन महिनामा होलीलाई रङ्गहरूको पर्वको रुपमा पनि लिने गरिन्छ ।
आजको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्कासित अंकमाल गर्दै पर्व मनाउने भएकाले यसको ठूलो महत्व छ । पहाडी क्षेत्रमा आज र तराईमा भोली यो पर्व मनाइन्छ ।
सोही अनुरुप आज पहाडमा र भोली तराईमा सार्वजानिक विदा समेत दिएको छ । होलीको अबसरमा जिल्ला सदरमुकाममा औपचारीक कार्यक्रम समेत हुँदैछ । सास्कृतिक कार्यक्रम गरी संकलन भएको रकमले समाज सेवा गरिरहेको गोरखा मल्टिट्यालेन्ट गुप्रले विभिन्न सास्कृतिक कार्यक्रम सहित होली मनाउन लागेको हो । जिल्ला अन्य ठाउँमा पनि कार्यक्रमहरु आयोजना गरिएका छन् ।


