गोरखा समाचारदाता
चैत्र ४ गते । गोरखा जिल्लाको पुनःर्निमाणमा खटिएका प्राविधिकहरुले आफुहरुको माग सम्बोधन नभएको सोमबार दिउसो सदरमुकाममा रहेको राष्ट्रिय पुर्नःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वन इकाईमा तालाबन्दी गरिदिएका छन् ।
प्राबिधिकहरुको आन्दोलनका कारण भुकम्प पिडितहरुको किस्ता सिफारिस र घर नापजाँच लगाएका कामहरु रोकिएको छ । जसका कारण भुकम्प पिडितहरुलाई अनुदान रकम प्राप्त गर्न ढिलाई हुनुका साथै समस्या समेत पर्न थालेको छ ।
जिल्लामा खटिएका प्राविधिकलाई परिचयपत्र, स्वास्थ्य तथा दुर्घटना विमा, क्षमता अभिवृद्धि तालिमको पनि ब्यबस्था हुनुपर्ने, कटौटी भएको सेवासुविधा पुनः उपलब्ध गराउनु पर्ने, प्राबिधिहरुले भौगोलिक, प्रोत्साहन, यातायात महंगी भत्ता साथै सञ्चार भत्ता मासिक रुपमा उपलब्ध गराउनु पर्ने माग गर्दै चरणबद्ध रुपमा आन्दोलन गर्दै आएका छन् । आफुहरुको मागको सम्बोधन नभएसम्म काममा नर्फने प्राबिधिक हकहित संरक्षण समितिका जिल्ला संयोजक बलराम घिमिरेले तालाबन्दीका क्रममा बताउनुभयो ।
आठबुँदे माग पुरा गर्न दवाब मुलक कार्यक्रमहरु गर्दै आएका प्राबिधिकहरुले सरकारले माग सम्बोधन नगरेको भन्दै कार्यालयमा तालाबन्दी गरी कामकाज ठप्प पारीदिएका हुन । प्राबिधिकहरुले कार्यालयका प्रमुख इ.सुनिता श्रेष्ठको कार्यकक्षमा समेत तालाबन्दी गरिदिएका छन । २ हप्तादेखि प्राबिधिकहरु आन्दोलनमा उत्रिएपछि गोरखा जिल्लाको पुनःनिर्माणका काम प्रभावित भएको छ ।
उनीहरुले जिल्ला तथा केन्द्रिय आयोजना कार्यान्वयन इकाई, जिल्ला समन्वय समिति तथा गोरखा जिल्ला भित्रका ११ ओटै स्थानिय तहहरुमा ज्ञापन पत्र बुझाएर कामकाज ठप्प पार्दै आएका थिए । गोरखा जिल्लामा राष्ट्रिय पुनर्निमाण प्राधिकरण अन्तरगत १ सय ६ इन्जिनियर, ७४ सब–इन्जिनियर र ७१ असिस्टेन्ट सब–इन्जिनियर कार्यरत छन् ।


