नरेन्द्र ढकाल/गोरखा
चैत्र ४ गते । जिल्लामा यसवर्ष कुल ४ हजार ३ जना विद्यार्थीले एसइई परीक्षा दिने भएका छन् । जिल्ला शिक्षा तथा समन्वय इकाई गोरखाले दिएको जानकारी अनुसार एसइई परीक्षाको तयारीमा जुटेका ४ हजार ४२० जना मध्ये १७ जना भने अयोग्य भएका हुन् । ‘आवेदन भरेका मध्ये १७ जना विद्यार्थीहरु परीक्षाका लागि अयोग्य देखिनु भएको छ’ परीक्षाका शाखा अधिकृत रामबहादुर अधिकारीले भने ‘उहाँहरुले न्यूनतम ७५ प्रतिशत हाजिरी पुरा नगरेको र फारम भरेको राजस्व दस्तुुर समेत नबुझाएको देखिन्छ ।’ गत वर्ष पनि उल्लेख्य संख्यामा विद्यार्थीहरु सोही कारण परीक्षा दिनबाट बञ्चित भएका थिए । २५ जना विद्यार्थीहरुले भने जिपिए सुधार (ग्रेट वृद्धि) दिने भएका छन् । उक्त परीक्षाका लागि नवज्योति मावि डण्डिडाँडामा केन्द्र तोकिएको छ ।
परीक्षाको लागि २५ वटा केन्द्र निर्धारण भएका छन् । यसवर्षबाट धार्चे गाउँपालिकाको केन्द्र माछाखोला पहिलो पटक एसइईको केन्द्र निर्धारण भएको छ । धार्चे र चुमनुब्रीका विद्यार्थीहरुका लागि लक्षित गरी जनजागृती आधारभूत विद्यालयमा केन्द्र राखिएको अधिकारीले बताए । ‘पहिलो पटक धार्चेको माछाखोलामा केन्द्र राखिएको छ’ उनले भने ‘अन्य ठाउँमा साबिककै केन्द्र रहनेछ ।’
२४ वटा केन्द्रमा चैत १० गतेबाट १८ गतेसम्म परीक्षामा सञ्चालन हुनेछ । सरस्वती मावि आहालेमा प्राविधिक विषयको केन्द्र तोकिएकाले त्यहाँ भने २१ गतेसम्म परीक्षा सञ्चालन हुने जिल्ला शिक्षा तथा समन्वय इकाईले जानकारी दिएको छ । ज्ञानमार्ग मावि घ्याल्चोक, भवानी मावि पालुङ्टार र भवानी मावि मान्बुमा अध्ययरत प्राविधिक विषयका विद्यार्थीहरुले उक्त केन्द्रबाट परीक्षा दिने अधिकारीले जानकारी दिए ।
‘ज्ञानमार्ग मावि घ्याल्चोकमा एनिमल साइन्स र अन्य दुईवटामा प्लान्ट साइन्सको पढाई हुन्छ’ उनले भने ‘ती विद्यालयका विद्यार्थीहरु लागि यो केन्द्र निर्धारण गरिएको हो ।’ प्राविधिक विषयमा ११३ जना विद्यार्थीले एसइई दिने तयारी गरेको जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईले जानकारी दिएको छ ।चालु शैक्षिक सत्रमा कम विद्यार्थीले परीक्षा दिने भएका छन् । गत वर्ष ४ हजार ५० जनाले विद्यार्थीले एसइइ दिएका दिए । यो संख्या गतवर्षको तुलनामा ४७ जनाले कम हो ।
कार्यालयले परीक्षाको तयारीलाई तिब्र पारेको छ । ‘केन्द्रहरुमा प्रश्नपत्र र उत्तरपुस्तिका पठाउन थालिसकेका छौं’ उनले भने ‘केहि दिनभित्र सदरमुकामका बाहेक अधिकाशंमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसक्ने छ ।’ मंगलबारसम्म सदरमुकामका ८ वटा केन्द्र बाहेक अन्यमा प्रश्नपत्र र उत्तरपुस्तिका पुरयाउने अधिकारीले दाबी गरेका छन् ।
चैत ५ गते अभिमुखिकरण गराएर केन्द्राध्यक्षहरुलाई कार्यक्षेत्रमा पठाउने तयारी कार्यालयको छ । ‘५ गते केन्द्राध्यक्षलाई अभिमुखिकरण गराउने कार्यक्रम तय भएको छ’ शाखा अधिकृत अधिकारीले भने ‘अहिले को कहाँ पर्नु हुन्छ थाहा हुँदैन त्यसै दिन पत्र दिएर खटाउने हाम्रो तयारी छ ।’ त्यस अघि जिल्ला परीक्षा समितिको बैठक बसेर केन्द्राध्यक्षको टुंगो लगाउने उनले बताए ।


