गोरखा समाचारदाता
लिगलिग पालुङटार मेयर कप फुटबलमा गोरखा नगरपालिकाले प्रभावशाली जित दर्ता गरेको छ । पालुङटार जारी उक्त प्रतियोगिताको क्वाटर फाइनलमा आइतबार जिल्लाकै गण्डकी गाउँपालिकालाई ६–० गोल अन्तरले हराउदै गोरखा नगरपालिका विजयी भएको हो । गोरखाको जितमा जमिर मास्केले ह्याट्रिक गरेका गरे । उनी खेलको म्यान अफ द म्याच समेत चुनिएका छन् ।
यसैगरी कृष्ण परियारले २ र अर्जुन गुरुङले १ गोल गरेका थिए । यसैगरी आइतबार नै भएको दोश्रो खेलमा स्याङ्जाको पुतलीबजार नगरपालिका विजयी भएको छ । तनहुँको भानु नगरपालिकालाई ट्राइबेकरमा पराजित गर्दै पुतलीबजार अघिल्लो चरणमा प्रवेश गरेको हो । निर्धारित समय गोल रहित बराबरी खेलेपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन ।
ट्राइबेरमा ३–२ गोल अन्तरले भानुलाई हराउदै पुतलीबजार बिजयी भएको आयोजक पालुङटार नगरपालिकाले जानकारी दिएको छ । खेलमा पुतलीबजारका गोलकिपर अभिषेक गुरुङ म्यान अफ द म्याच घोषित भएका थिए । योसँगै गोरखा र पुतली बजार नगरपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइन खेल सोमबारबाट सुरु हुने आयोजकले बताएको छ ।
पहिलो खेल दिउँसो १२ बजे पुतलिबजार नगरपालिका स्याङजा र गैडाकोट नगरपालिका नवलपुर बिच हुनेछ । दिउँसो २ बजे हुने दोस्रो खेलमा गोरखा नगरपालिका र देवचुली नगरपालिका नवलपुर आमुन्ने सामुन्ने हुनेछन् । सर्वाधिक २ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ पुरस्कार राशीको प्रथम लिगलिग पालुङटार मयेर कपको उपविजेताले १ लाख २३ हजार ४५६ रुपैयाँका साथमा ट्रफि, मेडल र प्रमाण पत्र पुरस्कार पाउने छन ।
सेमिफाइनलमा पुग्ने दुई टिमलाई नगद ५४ हजार ३२१ रुपैयाँ दिईनेछ । सोमबार हुने सेमिफाइन प्रतियोगिताका उपपिजेता टिमले उक्त पुरस्कार पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले १२ हजार ३ सय ४५ रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट अग्रपक्ति, उत्कृष्ट मध्यपक्ति, उत्कृष्ट रक्षक, उत्कृष्ट गोलकर्ताले जनही नौ हजार आठ सय ७६ रुपैयाँ पुरस्कार पाउनेछन् ।
फाइन खेल ६ गते बुधबार हुनेछ ।



