दीपक श्रेष्ठ/गोरखा
चैत्र १ गते । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निमार्ण गर्न लागिएकोे बुढिगण्डकी जलबिद्युत आयोजनाको डुवान क्षेत्रमा पर्ने घरगोठ, फलफुल र बोट बिरुवाको तथ्याङक संकलनको काम शुरु भएको छ । आयोजनाको पुर्नबास तथा पुर्नस्थापना ईकाइले आजदेखि गोरखा र धादिङ दुवै जिल्लाको डुवान क्षेत्रमा तथ्याङक संकलनको काम शुरु गरेको हो ।
तथ्याङक संकलनका लागि दुवै जिल्लाका कषि ज्ञान केन्द्र, भवन डिभिजन कार्यालय र बन कार्यालयका प्राबिधिकहरु परिचालन गरिएको आयोजनाका पुर्नबास तथा पुर्नस्थापना इकाई सिउरेनीटार कार्यालयका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । ‘आजदेखि गोरखातर्फ गण्डकी गाउँपालिकाको ध्याल्चोक बसेरी र धादिङतर्फ सलाङबाट तथ्याङक संकलन शुरु भएको छ’ उहाँले भन्नुभयो, २ महिना भित्रमा सक्ने गरी प्राबिधिकहरु परिचालन गरेका छौ ।’
डुवान क्षेत्रमा पुगेर प्राबिधिकहरुले घर, गोठ, फलफूल, रुख र अन्य संरचनाको लगत संकलन गर्ने उहाँले बताउनुभयो । लगत संकलनमा जाने प्राबिधिकहरुलाई आयोजनाले दुई पटकसम्म तालिम समेत प्रदान गरेको इकाई प्रमुख कार्कीले जानकारी दिनुभयो । ‘मोवाइल एप्लीकेसन मार्फत डुवान क्षेत्रमा प्राबिधिकहरुले तथ्याङक संकलन गर्ने व्यवस्था मिलाइएको छ, उहाँले भन्नुभयो, ‘त्यसका लागि मोवाइल एप्स कसरी चलाउने भनेर प्राबिधिकहरुलाई बिशेष तालिम प्रदान गरेर फिल्डमा खटाएका छौ ।’
आयोजनाले भवन डिभिजन कार्यालय, वन कार्यालय र कृषि कार्यालयबाट ४÷४ प्राविधिकलाई तालिम दिइएको इकाइका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । जसमध्ये भवनबाट खटिएका प्राबिधिकहरुले घरगोठको संरचनाको तथ्याङक संकलन गर्नेछन् भने बन कार्यालयबाट खटिएका प्राबिधिकहरुले रुख तथा बोट बिरुवाको तथ्याङक संकलन गर्ने उहाँले बताउनुभयो ।
त्यस्तै कृषिज्ञान केन्द्रबाट खटिएका प्राबिधिकहरुले डुवान क्षेत्रमा पर्ने फलफुलको तथ्याङक संकलन गरेर ल्याउने इकाई प्रमुख कार्कीको भनाई छ । ‘छिटो र विश्वसनिय ढंगले तथ्याङक संलकनका लागि सजिलो होस भनेर आयोजनाले बिशेष प्रबिधियुक्त मोबाइल एप्लिकेसनको निर्माण गरेको उहाँले बताउनुभयोे । ‘मोवाईल एप्लीकेसनबाट तथ्याङक संकलन गर्दा सहि गणना निकाल्न सहज हुने इकाई प्रमुख कार्कीले बताउनुभयो ।
‘फिल्डमा खटिने प्राविधिकहरुले डुवान क्षेत्रका प्रभावितहरुको घर–घर मै पुगेर तथ्याङ्क संकलन गर्नुहुन्छ, उहाँले भन्नुभयो, प्राबिधिकहरुले प्रत्येक घर, गोठ, फलफूल, निजी जग्गामा पर्ने बोटबिरुवाहरुको तस्बिर सहित तथ्याङ्क संकलन गरी कार्यालयमा ल्याए लगत्तै मुअब्जा निर्धारण गरि रकम बितरणको काम शुरु हुन्छ ।’ आयोजनाले चालु आर्थिक बर्ष भित्र मुअब्जा बितरणको काम सम्पन्न गर्ने गरी कामलाई तिव्रता दिएको उहाँले जानकारी दिनुभयो ।
चालु आर्थिक बर्षको चैत महिना भित्र जग्गाको मुआब्जा वितरण सकेर चालू आर्थिक वर्ष भित्र घर गोठ फलफूलको पनि मुआब्जा बितरण सम्पन्न गर्ने लक्ष्य आयोजनाको रहेको इर्काइका प्रमुख कार्कीको भनाई छ । आयोजनाबाट गोरखातर्फ गण्डकी गाउँपालिका, सहिदलखन गाउँपालिका, आरुघाट गाउँपालिका, भिमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकामा गरी कुल ३० हजार रोपनी क्षेत्रफल जमिन डुवानमा पर्ने आयोजनाले जनाएको छ ।


