नरेन्द्र ढकाल/गोरखा
फागनु ३० गते । घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय भित्र सेवाग्राही ठगिएका छन् । उपर्युक्त प्रविधि (मेशिन औजार उपकरण) हस्तान्तरण कार्यक्रमको स्किम (योजना) पेस गर्ने क्रममा कर्मचारीले प्रति सेवाग्राही ३ हजारसम्म रकम लिएको सेवाग्राहीले गुनासो गरेका छन । ‘होटलको स्कीम हाल्न गएको थिएँ, तपाइँले बनाएको मिलेन अर्कै बनाउन पर्छ भने भन्नुभयो’ अजिरकोटका एक व्यवसायीले भने ‘हामी बनाइदिन्छौ तर पैसा लाग्छ भनेर माग्नु भयो ।’ कार्यालयको तल्लो फ्लोरमा बस्ने कर्मचारीहरुले कायकक्षमै उक्त रकम बुझेको तर रसिद भने नदिएको उनले बताए ।
केही दिन अघि एउटै गाउँका ४ जना व्यवसायी स्किम बुझाउनका लागि घरेलु कार्यालय पुगेका थिए । बाहिरबाट बनाएर लगेको स्किम नभएपछि उनीहरु मध्ये ३ जनाले २५/२५ सय र १ जनाले ३ हजार रुपैयाँ तिरेर नयाँ स्किम बनाएका हुन् । ‘हाम्रो होटलको २५०० लाग्छ भन्नुभयो’ नाम नबताउने शर्तमा उनले भने ‘एक जना भाईको फर्निचर स्किम थियो उसको चाँही गारो हुन्छ भनेर ३ हजार लिनु भयो ।’
घरेलुका कर्मचारीकै मिलेमतो कार्यालय नजिकै रहेको एउटा फोटोकपी पसल मार्फत उक्त स्कीम निर्माण गरिएको श्रोतको दाबी छ । चालु आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार उक्त कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्यमीहरुलाई उपर्युक्त प्रबिधि (मेशिन औजार उपकरण) हस्तान्तरणको लागि प्रस्ताव आब्हान गरिएको थियो । बढिमा १ लाख सम्मको मेशिन औजार उपकरण हस्तान्तरणको लागि कार्यालयले ८० प्रतिशत अनुदान उपलब्ध गराउने कार्यविधि छ । २० प्रतिशत भने स्वम् व्यवसायीहरुले बेहोर्नु पर्छ । १०० रुपैयाँ दरखास्त शुल्क लिएर आवेदन दिन सकिने भएपनि सेवाग्राहीले भने २५०० देखि ३००० हजार तिर्नु परेको हो ।
यता घरेलु तथा साना उद्योग बिकास समितिको शाखा कार्यालय गोरखाका प्रमुख नवराज रावतले यदी कार्यालयका कर्मचारीले उक्त काम गरेको प्रमाणीत भए कारवाही गर्ने दाबी गरेका छन् । ‘हामीले नमूना फारम नै बनाएर राखेका छौं, स्किम बनाउन नसक्नलाई उल्टै हामी बनाइदिन्छौं त्यसको अतिरिक्त पैसा लाग्दैन’ उनले भने ‘त्यसरी कार्यालयमै पैसा लिएर कर्मचारीले उक्त काम गरेको भए त्यो गलत भयो उहाँहरुलाई कारवाही गर्छौ ।’ केही समय अघि पनि एक जना कर्मचारीले कार्यालय समयभित्र अतिरिक्त काम गरी सेवाग्राहीसँग रकम लिएको भेटिए पछि कारवाही गरेको रावतले दाबी गरेका छन् ।
उक्त कार्यक्रम अन्र्तगत ५६ जना लघु, घरेलु तथा साना उद्यमीहरुले अनुदान माग गर्दै स्किम दर्ता गराएका छन् । उनीहरु मध्ये अधिकाशंले २५,०० देखि ३,००० सम्म रकम तिरेर स्किम निर्माण गरेको श्रोतको दाबी छ । जसबाट कर्मचारीले सेवाग्राहीको लाखौं रकम असुलेको देखिन्छ । ५६ जनाको दरखास्त परेपनि ४० वटा कोटा रहेकोले छनौट गरी उपकारण हस्तान्तरण गरिने कार्यालयले बताएको छ । यस अघि सिमिति पहुँचवालाले सुबिधा लिने गरेको भएपनि यस वर्ष देखि स्थानीय तहमा मार्फत सूचना जारी गरेपछि आवेदन दिने बढेका हुन् । उक्त कार्यक्रमका लागि दरखास्त पेश गर्न छुट्याइएको ३० दिनको समय भने सकिएको छ ।


