गोरखा समाचारदाता
फागुन २९ गते । गोरखाको पालुङटारमा भएको लैङ्गीकता र अपाङ्गतामा आधारीत घरेलु हिसां न्युनिकरण कार्यक्रम सातबुँदे घोषणा पत्र जारी गदै सकिएको छ ।
घोषणा पत्रमा ‘उचित संरक्षणको अभावले गर्दा हिंसा पिडितबाट घटनाहरु उजुरी नहुने साथै उजुरी भएको घटनाहरु पनि फिर्ता हुने हुदाँ पिडित संरक्षणकोे लागि स्थानिय निकायले पहल गर्ने’ उल्लेख गरिएको छ । जारी गरीएको घोषणा पत्रमा लैंगिक हिंसा पिडित पुर्नःस्थापनाको लागि आवश्यक कोषको स्थापना गर्ने, सुरक्षित सुनुवाईको लागि इजलासको व्यवस्थापना गरी हिंसा प्रभावितलाई तत्काल संरक्षण र उचित न्यायको व्यवस्था गर्न पालुङटार नगरपालिका, बारपाक सुलिकोट र सिरानचोक गाउँपालिकाले प्रतिबद्धता समेत जनाएको छ ।
पालुङ्गटार नगरपालिका, इलाका प्रहरी कार्यालय ठाँटीपोखरी, स्वाँरा सघन गाउँ बिकास केन्द्र, नेपाल अपाङ्ग महिला संघ, अन्तरपार्टी महिला संजालको संयुक्त आयोजनामा भएको कार्यक्रममा जारी गरिएको पत्रमा समुदायमा भएका लैंगिक हिंसाका घटनालाई सम्बन्धित निकाय सम्म पुग्ने वातावरण बनाउन स्थानिय न्यायिक समितिले सचेतना अभिबृद्धिका कार्यक्रम संचालन गर्ने उल्लेख गरीएको छ ।
कार्यक्रममा पिडित तथा सेवाग्राहीलाई हिंसा सम्बन्धि कानूनी प्रावधानका बारेमा जानकारी गराइ न्यायको पहूँच अभिवृद्धि गर्ने, हिंसा प्रभावितहरुको जीविकोपार्जन सुधारका लागि सिफारिस प्रणालीका मध्यमबाट विभिन्न निकायहरुको सहकार्यमा सहयोगका लागि पहल गर्ने निर्णय भएको छ ।
कार्यक्रममा पालुङटार नगरपालिका न्यायिक समितिकी संयोजक पम्फा बसेल, बारपाक सुलिकोट गाउँपालिका न्यायिक समितिकी संयोजक सनमाया गुरुङ र सिरानचोक गाउँपालिका न्यायिक समितिकी संयोजक रीता देवकोटा र पालुङटार नगरपालिका कानुनी सल्लाहकार दिपक कुमार श्रेष्ठले सहभागीहरुले राखेको जिज्ञासाको उत्तर दिनु भएको थियो ।




















