गोरखा समाचारदाता
फागुन २७ गते । आईतबार इथियोपियामा भएको विमान दुर्घटना परी गोरखाकी एकता अधिकारीले ज्यान गुमाएकी छिन । उनी पछिल्लो समय विश्व खाद्य कार्यक्रम आवद्व भई काम गर्दै आएकी थिइन ।
डिस् अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको बोईङ दुर्घटना हुँदा १ सय ४९ यात्रु र चालक दलका ८ सदस्यको मृत्यु भएको हो ।
विमानमा विभिन्न ३५ मुलुकका नागरिक सवार रहेको एयरलाइन्सले जनाएको छ । उडान भरेको ६ मिनेटमै स्थानीय समय अनुसार बिहान ८ बजेर ४४ मिनेट जाँदा बिशोफ्टु सहर नजिक विमान दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनाको कारण खुलेको छैन ।
इथियोपियास्थित राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा कार्यरत अधिकारी सोही विमानमा आफ्ना ४ सहकर्मीका साथ केन्याकोतर्फ औपचारिक काममा जाँदै थिइन् ।
मृतक एकताका बारेमा काठमाडौंस्थित सम्बद्ध परिवारलाई विश्व खाद्य कार्यक्रम मुख्यालयले जानकारी गराइसकेको मृतक परिवारसँग नजिकको सम्बन्ध भएका सुवास अधिकारीले जानकारी दिनु भयो।
एकता २ वर्ष अघिसम्म नेपालकै विश्व खाद्य कार्यक्रम काम गरेर काठमाडौंमा बस्दै आएकी थिइन । एकता नेपालमा आएको २०७२ को भूकम्पपछिको विपत्को स्थितीमा एकता विश्व खाद्यको ‘आपतकालिन राहत कार्यक्रममा संलग्न थिइन् ।
अधिकारी गोरखा जिल्ला साविक मिरकोट गाउँ बिकास समिति ३ की हुन ।


