दीपक श्रेष्ठ/गोरखा
राष्ट्रियसभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले देशलाई नै बिखण्डन गर्छु भन्नेहरु राजनीतिक मुलधारमा आउनु सकारात्मक भएको बताउनु भएको छ । नेपाल प्रेस युनियन गोरखाले आज सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पाण्डेले यस्तो बताउनु भएको हो ।
‘उहाँले मधेषलाई नै छुट्टै राज्य बनाउनुपर्छ भनेर जुन बिखण्डनको भाषा बोलीरहनु भएको थियो, अहिले संबिधानलाई मान्छु, राजनीतिक मुल धारमा आउछु भन्नु सकारात्मक पक्ष हो ।’ नेता पाण्डेले भन्नुभयो । उहाँले सरकारले गरेको सम्झौता साच्चै मधेषका समस्या समाधानका लागि भएको भए पनि हतारमा गरिएको सम्झौताले आशंका गर्ने ठाउँ रहेको बताउनुभयो ।
नेता पाण्डेले सम्झौतापछि सिके राउतले ट्विट मार्फत सरकारले जनमत संग्रह स्विकार गरेको भन्ने अभिव्यक्ति बाहिर ल्याएको भन्दै सम्झौताको आधिकारिक धारणा सरकारले सार्वजनिक गर्नुपर्ने बताउनुभयो । ‘सरकारसगं भएका सम्झौताका बुँदा र उहाँले गर्नुभएको टिव्टमा मेल खाएको छैन, फरक–फरक धारणा आउदा त्यसले बिबाद सृजना गर्छ ।’ उहाँले भन्नुभयो ।
सम्झौताले नेपालको बर्तमान राजनीतिमा तरङ ल्याएको भन्दै नेता पाण्डेले जनमत सग्रहबाट समाधान खोज्ने भनिएको भए त्यो आपत्तीजनक हुने बताउनुभयो । ‘प्रजातान्त्रिक बिधिबाट मधेषका समस्या खोजिनु सरकारको सकारात्मक काम हो, उहाँले भन्नुभयो, तर बाहिर आएका कुराहरुको बारेमा आधिकारिक जबाफ दिनुपर्छ ।’
अर्को फरक प्रसंगमा काग्रेस भित्र बिशेष महाधिबेसनको चर्चा चलेको छ नी भन्ने पत्रकारको जिज्ञासामा नेपाली काग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका पाण्डेले पार्टी भित्रका केही नेताहरुले बिज्ञप्ती निकाल्दैमा बिशेष महाधिबेसन नहुने बताउनुभयो । नेपाली काग्रेसमा अहिले चाहिने भन्दा बढि लोकतान्त्रिक अभ्यास हुने गरेको भन्दै त्यसले पार्टीलाई फाइदा नपुग्ने उहाँको भनाई छ ।
‘बिशेष महाधिबेसन बोलाउने प्राबधान छ, अझै हामीसंग एक बर्ष समय बाँकी समय छ महाधिबेसनका लागि अनि हतारे किन ?’ उहाँले प्रश्न गर्नुभयो । पार्टीको सानो एजेण्डामा पनी बक्तव्यबाजी गर्ने कार्यशैलीले पार्टीमा बिभाजनको रेखा कोर्ने प्रबिधि राम्रो नुहने उहाँले बताउनुभयो ।


