नरेन्द्र ढकाल/गोरखा
पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले निर्माण व्यवसायमा भएको राजनितिकरणले देशको बिकास हुन नसको बताएका छन् । जिल्ला सदरमुकाममा भएको ‘गोरखाको बिकासमा विशेष महत्व राख्ने योजनाहरुको अबस्था र चुनौती विषयेक बहस : एक’ कार्यक्रममा बोल्दै उनले राजनिति गर्नेले व्यवसाय गरेका कारण बिकास निर्माणको कामले लथालिङ भएको बताएका हुन । ‘पुजारीले मासु पसल राख्न मिल्दैन’ उनले भने ‘राजनिति गर्ने व्यक्तिले ठेक्का गर्ने होइन यदी व्यवसाय गर्ने हो भने राजनिति गर्न मिल्दैन ।’
जिल्लाको बिकास योजनावद्ध ढङ्गले हुन नसकेको भन्दै उनले योजना छनौटमै समस्या रहेको बताएका छन् । नेपालमा ठेक्का प्रक्रिया गतल हुँदा सबै समस्या निम्तिएको भन्दै उनले सार्वजानिक खरिद ऐन संशोधनका लागि संसदमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘अहिलेको सार्वजानिक खरिद ऐन बेठिक छ, यसलाई बदल्नु पर्छ भनेर हामीले भन्दै आएका छौं’ उनले भने ‘त्यसको लागि हामी सम्बन्धित ठाउँमा आवाज उठाउछौं ।’ मुलुक संघियतामा गइसकेकोले तिनवटै सरकारकोको समन्वयमा बिकास निर्माणका काम अगाडी बढाउनु पर्ने उनको भनाई छ ।
कार्यक्रम पछि पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराई सरकारले सिके रावतसँग सम्झौता गरेर मुलुक टुक्र्याउने षणयन्त्र गरेको तर्क गरेका छन् । सरकारले साच्चिकै शान्ति चाहेको भए विप्लप समूह र रेशम चौधरीलाई पनि उही व्यवहार गर्नुपर्ने उनको माग छ ।


