कैलासबावु श्रेष्ठ/गोरखा
फागनु २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारी आज गोरखाको मनकामना आउनु हुने भएको छ । मन्दिर जिर्णोद्वार कार्य सम्पन्न भएकोले मन्दिरमा पुजा र चन्दादातालाई सम्मान गर्न वहाँ गोरखाको मनकामना मन्दिर आउन लाग्नु भएको गोरखाका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
राष्ट्रपति आउने भए पछि मनकमनामा हिजै देखी विशेष सुरक्षा ब्यवस्था अपनाइएको छ । नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरीका साथै सादा पोसाकमा राष्ट्रिय अनुसन्धान तथा प्रहरी खटाइएको छ ।
राष्ट्रपति भण्डारी दिउसो १ बजे पोखराबाट गोरखाको मनकामना आईपुग्ने छ । नेपाली सेनाको हेलीकप्टर मार्फत मन्दिरको केही माथि झरेर भण्डारी हिडेरै मनकामना मन्दिर प्रवेश गर्ने कार्यक्रम तय भएको मनकामना जिर्णोद्वार समितिले जानकारी दिएको छ ।

वहाँले शुरुमा नै मनकामना देवीको विशेष पुजा अर्चना गर्ने र त्यस लगत्तै मनकामना मन्दिर जिर्णोद्वारका लागि चन्दा दिनेहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको मन्दिरका मुल पुजारी ईन्सानबहादुर थापाले जानकारी दिनु भयो ।
१ घण्टाको कार्यक्रम लगत्तै राष्ट्रपति बिद्यादेवी भण्डारी राजधानी फर्कन कार्यक्रम तय भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक भोलाबहादुर रावलले जानकारी दिनु भयो ।




















