पोखरा-पोखरामा प्याराग्लाइडिङ उडान सञ्चालन गर्दै आएका कम्पनीले पोखरा महानगरपालिकालाई कर तिर्ने सहमति गरेपछि बुधबारदेखि बन्द गर्ने भनिएको उडान पूर्ववत् रुपमा नै सञ्चालन रहने भएको छ ।
उडान कम्पनीले २०७२ सालदेखि हालसम्मको कर नतिरेको भन्दै महानगरपालिकाले ती उडान बुधबारदेखि बन्द गर्ने चेतावनी दिएपछि मङ्गलबार साँझ महानगरपालिका र हवाई खेलकूद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ सङ्घ (नेफा)बीच भएको सहमतिका आधारमा व्यवसायी कर तिर्न सहमत भएका हुन्।
महानगरपालिका–१८ का वडाध्यक्ष रणबहादुर थापाका अनुसार समहतिसँगै आगामी एक हप्ताभित्र प्रत्येक कम्पनीले रु ८६ हजारका दरले कर तिर्ने भएका छन्। सहमतिअनुरुप, एक हप्ताभित्र उक्त शुल्क नतिर्ने कम्पनीलाई उडान गर्न नदिइने उनले जानकारी दिए। पोखरामा ६० भन्दा बढी प्याराग्लाइडिङ कम्पनीले उडान गर्दै आएका छन्।


