- टीकापुर घटनालाई फर्केर हेर्दा,
काठमाडौँ — राजनीतिक दलले कैलाली टुक्र्याएर ६ प्रदेशमा सहमति बन्न लागेको खबर २०७२ साल साउन २६ गते बुधबार सामजिक सञ्जालमा छायो । त्यही दिन साँझ अखण्ड सुदूरपश्चिम पक्षधर आक्रोशित भयो । धनगढी, अत्तरिया, टीकापुरलगायत बजारमा साँझ राँके जुलुस प्रदर्शन भएको थियो । २८ गते बिहीबारदेखि अनिश्चितकालीन आमहड्ताल सुरु भयो ।
सामाजिक सञ्जालमा जे आए पनि राजनीतिक दलको ६ प्रदेशमा सहमति बन्यो। सुदूरपश्चिम अखण्ड नै भयो, अझ बढी कर्णाली र भेरीका जिल्लासमेत थपिए। यो सहमतिपछि थरुहट पक्ष आन्दोलनमा उत्रेको हो। थरुहटले अनिश्चितकालीन आमहडताल र विरोध जुलुस प्रदर्शन हालसम्म जारी राखेको थियो।
राजनीतिक दल राज्य पुनर्संरचनाको खाकामा परिमार्जित गर्ने भन्दै छलफलमा जुट्न पुग्यो। ६ प्रदेशको खाकामा अखण्ड बनेको सुदूरपश्चिम कतै गुम्ने त होइन भन्ने शंका अखण्ड पक्षमा पर्यो। खबरदारीका लागि अखण्ड पक्षधरले पनि पुन: आन्दोलनको सुरुआत गरे।
थरुहट पक्षधरले साउन ३२ मा धनगढीमा बृहत् आमसभा गरेको थियो। आमसभालाई सफल पार्न ३२ गते आफ्नो बन्दलाई फिर्ता लिएका थिए तर अखण्ड पक्षधरको चाहिँ बन्द कायमै थियो। बन्दका बाबजुद पनि धनगढीको क्याम्पस रोडमा थरुहट पक्षले विशाल आमसभा गरेका थिए। थरुहट र अखण्ड पक्षधरबीच धनगढीमा झडप भएको थियो। कुनै ठूलो क्षति भने भएको थिएन। ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले धनगढी भिडन्तको अवस्थालाई सुरक्षित अवतरण गरेको थियो।
शनिबार कैलालीको टीकापुरमा अखण्ड पक्षधरले विजय आमसभा आह्वान गरिएको थियो। त्यसको पूर्वसन्ध्यामा अखण्ड पक्षधरले धनगढी टीकापुरमा सद्भाव मोटरसाइकल र्याली निकालेका थिए। उक्त र्यालीमाथि थरुहट पक्षधरले दुगौलीको तरियामा आक्रमण गरेका थिए। घटनापछि टीकापुर अशान्त बन्दै गएको हो। उक्त घटनामा दर्जनौं मोटरसाइकल, साइकल जलाइयो। अखण्ड पक्षधर ११ जना घाइते भए। ५ जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भए। मोटरसाइकल र्यालीमा भाला लगायतका घरेलु हतियार लिएर थरुहट पक्षधर विरोध प्रदर्शनमा उत्रेका थिए।
भदौ ७ गते दिउँसोको १ बजेको थियो, त्यतिबेलासम्म प्रहरीले आन्दोलनकारीलाई ४ निषेधाज्ञा तोड्न दिएको थिएन। चार दिनदेखि जारी निषेधाज्ञा जसरी पनि तोड्ने भन्दै आन्दोलनकारीको भीड बढ्दै थियो। उनीहरूको हातमा गुलेली, लाठी, भाला, खुकुरी, बन्चरोलगायत घरेलु हतियार थिए।
स्थानीय प्रशासनले आन्दोलन दबाएको भन्दै आन्दोलनकारीले आक्रोश व्यक्त गरिरहेका थिए। कर्फ्यु र निषेधाज्ञा तोड्न खोज्दा झडप भएको थियो। उक्त क्षेत्रमा प्रशासनले बिहान ११ देखि साँझ ५ बजेसम्मलाई कर्फ्यु लगाएको थियो।
आन्दोलनकारीको संख्या अत्यधिक थियो। स्थानीयका अनुसार करिब १० हजार थरुहट आन्दोलनकारी निषेधित क्षेत्रमा जम्मा भएका थिए। प्रत्येक घरबाट कम्तीमा एक जना आन्दोलनमा अनिवार्य सहभागी हुन भनिएकाले प्रौढ र महिलाहरू पनि सहभागी थिए।
कैलालीको पूर्वी भेगमा पर्ने टीकापुर नगरपालिकाको मुख्य बजारबाट करिब दुई किमी टाढाको वडा नम्बर २ स्थित मनुवा गाउँ नजिकै भएको भिडन्तमा प्रदर्शनकारीले प्रहरीलाई घेरबन्दीमा पारे। लगत्तै प्रहरीमाथि अन्धाधुन्ध आक्रमण थाले। घटनास्थल पशुहाट बजार र दुर्गौली बजारको बीच क्षेत्र थियो।
कर्फ्यु र निषेधित क्षेत्र तोड्ने योजनासहित प्रदर्शनकारी मनुवा, दुगौलीलगायत क्षेत्रहरूबाट आएका थिए। उत्तरतर्फबाट आएका प्रदर्शनकारीलाई प्रहरीले शिव मन्दिर नजिकबाटै लखेटेर सुरुमा तितरवितर पारे पनि त्यसको ‘झोंक फेर्न’ आन्दोलनकारी थप आक्रोशित भएर जाइलागेका थिए। निषेधाज्ञा तोकिएको क्षेत्रमा एसएसपी लक्ष्मण न्यौपानेको नेतृत्वमा प्रहरी फोर्स बसेको थियो। आन्दोलनकारीले घरेलु हतियारसहित हजारौंको संख्यामा टीकापुर प्रवेश गरेर सरकारी कार्यालयमाथि आक्रमण गर्ने योजना बनाएको जानकारी पाएपछि एसएसपी न्यौपानेको टोली घटनास्थलमा खटिएको थियो।
आन्दोलनकारी अघि बढ्न रोक्न खोजे पनि प्रहरी असफल भयो। एक बजेदेखि सुरु झडप करिब चार बजेसम्म चल्यो। आन्दोलनकारीले टीकापुरमा रहेका सरकारी कार्यालयमा थरुहटको साइनबोर्ड राख्ने कार्यक्रम तय गरेका थिए।
कैलाली र कञ्चनपुरसहितको बेग्लै थरुहट/थारूवान प्रदेश माग गर्दै आन्दोलनमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीचको यो भिडन्तमा एसएसपीसहित नेपाल प्रहरीका ५ तथा सशस्त्रका दुई प्रहरी र एक बालक गरी ८ जनाको मृत्यु भयो।
प्रदर्शनकारीले प्रहरी टोलीलाई खुकुरी, भाला र बन्चरोलगायत हतियार प्रहार गरेका थिए। नेपाल प्रहरीका सेती अञ्चल प्रमुख एसएसपी न्यौपाने, निरीक्षक बलराम विष्ट र केशव बोहरा, हवल्दार लक्ष्मण खड्का तथा जवान लोकेन्द्र चन्दको मृत्यु भएको छ। त्यस्तै सशस्त्रका हवल्दार ललित साउद र जवान रामविहारी चौधरीको ज्यान गयो। सशस्त्र प्रहरी हवल्दारकै छोरा २ वर्षीय बालक टेकबहादुर साउदको पनि मृत्यु भएको छ।
दर्जनौं आन्दोलनकारी घाइते भए भने प्रहरीतर्फका २१ घाइते भएका थिए।
kantipur


