मोहसिन अलि मियाँ/गोरखा
फागुन २१ गते । ताप्लेका महिलाहरु सामुहिक कृषिमा लागेका छन् । गोरखा नगरपालिका वडा नं. २ बोहोरागाउँका महिलाहरु देवी सरस्वती महिला समुह बनाएर सामुहिक तरकारी तथा कुखुरा पालनमा लागेका हुन् । ‘हामी गाउँकै दिदिवहिनीहरु मिलेर सुरु गरेका हौ’ समुहकी अध्यक्ष कमला श्रेष्ठले भनिन् ‘केहि आम्दानी गरेर घरखर्च पनि चलाऔ र फाल्तु समय पनि बचत गरौ भन्ने सल्लाह भएपछि काम अघि बढाएका हौं ।’
यहाँका महिलाहरु गाउँ नजिकैको झण्डै डेढ रोपनी जग्गा भाडामा लिएर सामुहिक कृषि पेशा आंगालेको बताउछन् । ४५ जनाको समुह भएपनि ३३ जना महिला मिलेर अहिले गाउँमै तरकारी खेती र कुखुरा पाल्न थालेपछि घरका मात्रै होइनन् गाउँका सबै दंग परेका छन् । ‘हाम्रो समुहले पहिला त सानो बचत मात्रै गर्दै आएको हो, अब घर चल्ने खर्च आफैले कमाउनुपर्छ भन्ने सल्लाह भयो’ अध्यक्ष श्रेष्ठले भनिन् ‘समुहमा त ४५ जना थियौ, तर यो काममा ३३ जना मात्रै आवद्ध हुनुभएको छ ।’
गाउँ नजिकै टहरो निर्माण गरि सुरुमा ५ सय वटा कुखुराको चल्ला हालेर सुरु गरेको कामलाई अहिले गोरखा नगरपालिकाले पनि सहयोग गरेको छ । त्यस्तै उनिहरुलाई सोड नेपाल नामक गैरसरकारी संस्थाले समेत साथ दिएको छ । ‘पहिला ५÷५ हजार उठाएर काम सुरु गरेका हौ, त्यसले टहरो बनाउन नि पुगेन’ समुहकी सदस्य लक्ष्मी बोहोराले भनिन् ‘हाम्रो काम अलपत्र देखेर सोड नेपालले १ लाख दिनुभयो, वडाबाट ४० हजार र नगरपालिकाबाट १ लाख सहयोग आयो, त्यै रकमले टहराको काम नि सक्यौ, चल्ला ल्याउने, तरकारीको बिउ सबै किनेर काम सुरु गरयौ ।’
तरकारी खेती र कुखुरा पालन महिलाहरुले गर्ने भएपनि ठुलो काममा पुरुषको सहयोग हुने गरेको बोहोराले बताइन् । ‘हामी महिलाहरु मिलेर गरेको काममा गाउँका दाजुभाईले पनि सहयोग गर्नुहुन्छ, सके नसकेको हेरिदिनुहुन्छ’ उनले भनिन् ‘अहिलेसम्म १ हजार २ सय ५० कुरखुरा हाल्यौ, बेच्ने बेला बर्खा परदियो, बाटोको कारण बजार नपाउदा त्यो लटमा नाफा भने खासै भएन ।’
उनिहरुले टहरामा अहिले दुई सय चल्ला हालेको बताएका छन् । अब भने प्रत्येक १० दिनको अन्तरालमा एक सय चल्ला थप्दै जाने समुहको योजना छ । ३३ जनामध्ये उनिहरुले हाल पालैपाले काम गर्ने गरेका छन् । दुई सिफ्ट बनाएर पालो गर्दै काम गर्ने गरेका उनिहरुले कुखुरासंगै साग, मुला, धनियाँ, काउली, बन्दा, सिमी जस्ता मौसमअनुसारका तरकारी पनि फलाउदै आएका छन् । समुहले यसलाई ब्यवसायीक रुपमा अघि बढाउदै लैजाने समेत तयारी गरेको अर्की सदस्य कल्पना बोहोरा बताउछिन् । नाफा भएको रकमलाई समुहकै कोषमा जम्मा गर्दै नमुना कृषि फर्मका रुपमा अघि बढाउने योजना रहेको बोहोराले सुनाइन् ।


