गोरखा समाचारदाता
तमू महिलाहरुले मुलुकको संघिय संरचना अनुसार सस्था सञ्चालन गर्ने निर्णय गरेका छन् । तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद्को गोरखामा भएको पार्षद भेलाले विभिन्न निर्णय गर्दै संघिय संरचना अनुसार रुपान्तरण हुने तयारी गरेको हो । ७ वटै प्रदेशका ४५ शाखा, केन्द्रिय समिति, सल्लाहकार समिति, संरक्षक समिति, मातृ सस्था तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद, अनुमन समिति लगायत विशेष सस्थाका प्रतिनिधिहरुको उपस्थितीमा शनिवार देखि सुरु भएको सभाले ५ वटा महत्वपूर्ण निर्णयहरु गरेको परिषद अध्यक्ष धना गुरुङले जानकारी दिइन् । ‘राज्यको बदलिदो परिस्थीति अनुसार हाम्रो विधान संशोधन गर्नुपर्ने थियो’ उनले भनिन ‘सोही अनुसार यो सभा बोलाईएको थियो, हामीले विधान संशोधन सहित सभा सम्पन्न गरेका छौं ।’
उक्त सभाले नेपालको संविधान २०७२ अनुसार संघिय, प्रदेश र स्थानीय तहमा सांगठनिक संरचना रहने गरी तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषदको विधान–२०६७ लाई संशोधन गरेको छ । यसैगरी गुरुङ महिलाहरुलाई राज्यको निजामति क्षेत्र, नीति निर्माण, कार्यान्वयनको तहमा महिला नेतृत्व, अधिकार सुनिश्चितका साथै अभिमुखिकरण, शसक्तिकरण तथा क्षमता अभिवृद्धि गर्न खालका विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । तमू भाषको खेमा लिपीलाई प्रदेश, जिल्ला र स्थानिय तहमा बिस्तार गर्ने, तमूहरुको धर्म, सस्कार, सस्कृति, भेषभुषा संरक्ष्णका तथा संवद्धनका लागि तमू ल्होसार र माङीत्हे्र पर्व लागि राष्ट्रिय पर्वको रुपमा मनाउने समेत सभाले निर्णय गरेको अध्यक्ष गुरुङले जानकारी दिइन् ।
पोशाकमा एकरुपता ल्याउन भन्दै कालो सदा छिट्को गुन्यो, निलो पटुकी, कलो सदा टिकिस, घरेलु स्यामा घलेक वा मखमाली घलेक, चौवन्दीचोलाी (कुनै रङ्ग) मलिनाको पछ्यौरा÷खतिक्रमु, हरियो पोते, मुगाको मालालाई सर्वसहमतीले भेषभुषा कायम गरिएको छ ।राज्यले कटौंती गरेको पर्व विदालाई सार्वजानिक विदाको रुपमा पुर्नस्थापना गराउन माग समेत उनीहरुले गरेका छन् । प्रदेश सरकारले नामाकरण गरेको गण्डकी प्रदेश प्रति असहमती जनाउँदै उक्त सस्थाको आधिकारिक दस्तावेजमा प्रदेश नम्बर ४ उल्लेख गरी तमुवान प्रदेश नामकरणका लागि निरन्तर आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने समेत तमू महिलाहरुले निर्णय गरेका छन् ।
शनिवार बाट गोरखा सदरमुकाममा सुरु भएको भेलामा २०० भन्दा बढि पार्षदहरुको सहभागिता रहेको थियो । भेला आइतबार सकिएको तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला परिषद्की जिल्ला अध्यक्ष मिना गुरुङले जानकारी दिईन ।


