कैलासबावु श्रेष्ठ/गोरखा
फागुन १५ गते । मंगलबार देखी मौषममा आएको परिवर्तन पछि उत्तरी गोरखाको अधिकाशं स्थानमा हिमपात भएको छ । हिमपातका भए पछि सर्व साधारणको जिवन कष्ठकर भएको छ ।
गएको एक महिना यता उत्तरी गोरखाको धेरै जसो स्थानमा हिमपात भई नै रहेको छ । हिमपातले उत्तरी गोरखाको प्राय गाउँमा बसोबास गर्ने बृद्व बृद्वा र असाह््रयलाई समस्या परेको उत्तरी गोरखाको साम्दोका निमा दोर्जे लामाले टेलिफोन मार्फत जानकारी दिनु भयो ।

पछिल्लो पटक मंगलबार दिउसो देखी उच्च हिमाली क्षेत्रमा भएको हिमपातले गोरखाको उत्तरी क्षेत्रमा रहेका सबै सञ्चार सम्र्पक बिच्छेद भएको छ । बुधबार साँझ सम्ममा ४ फिट हिउँ जमि सकेको साम्दोका लामाले बताउनु भयो ।

हिजो देखी हिमपात भए पछि गोरखाको उत्तर पश्चिममा रहेको सामागाउँ र साम्दो बिचको बाटो अबरुद्व भएको छ । यो सिजनमा पर्यटक उत्त क्षेत्रमा नजाने भएका कारण स्थानिय मात्र गाउँमा हरेको स्थानिय निमा दोर्जे लामाले बताउनु भयो ।

उत्तरी गोरखाको सिर्दीबास, चुम्चेत, छेकम्पार, बिही, ल्हो, प्रोक र सामागाउँमा हिजै देखी हिउँ परेको जानकारी आएको मनास्लु संरक्षण क्षेत्र आयोजना प्रमुख नरेन्द्र लामाले जानकारी दिनु भयो । ‘ न्याकको क्षेत्र भन्दा माथि सबै क्षेत्रमा हिजै देखी हिउँ परेको जानकारी प्राप्त भएको छ । बुधबार दिउसो सम्ममा त फिलीम पारी रहेको पाङसिङको माथि डाडाँ सम्म हिउ परेको जानकारी आएको थियो’ भन्नुहुन्छ आयोजना प्रमुख लामा । लामाले दिएको जानकारी अनुसार सिर्दीबासको फिलिम क्षेत्रमा दिनै भरी ठुलो पानी परेको छ ।

गोरखाको उत्तरी क्षेत्रको पुर्वी भागमा रहेको छेकम्पारमा पनि ठुलो मात्रामा हिमपात भएको छ । हिमपातले त्यस क्षेत्रको अन्तिम गाउँ निले र छुलेमा पनि ४ फिट वरावर हिउ जमेको छ । हिमपात कै कारण एउटा गाउँ देखी अर्को गाउँ आउजाउ गर्ने बाटो पुर्ण रुपमा बन्द भएको छ ।

अहिलेको हिमपातले अन्नपातलाई खासै असर नगरे पनि अब धेरै दिन सम्म हिमपात भए अन्नबालीलाई असर गर्ने र सर्व साधारणको दैनिक जिवन यापनमा समस्या आउन सक्ने निश्चित छ ।
यो बर्ष गोरखाको तल्लो भेग सम्म पनि हिमपात भएको छ । जानकारहरुका अनुसार दुई दशकको अन्तरालमा तल्लो क्षेत्रमा हिमपात भएको यो पहिलो पटक हो ।

तस्बिर : निमा दोर्जे लामा/साम्दो



