नरेन्द्र ढकाल/गोरखा
फागुन १४ गते । सिराचोक–८ जौबारीको धन्सारबाट ४ बालबालिकाको उद्धार भएको छ । बुबाको मृत्यु र आमाले अन्यत्र विवाह गरेर गएपछि बिचल्लीमा परेका उनीहरुलाई मानब सेवा आश्रम गोरखाले उद्धार गरेको हो । ‘उहाँहरुको अबस्था निकै नाजुक छ भन्ने हामीले थाहा पायौं, सबै जनाले उद्धारका लागि आग्रह गर्नुभयो’ मानब सेवा आश्रम गोरखाकी मुना लामाले भनिन् ‘अनि हामीले आश्रममा ल्याएका हौं ।’
२०७४ साल अशोज २८ गते बुबा केशर परियारको मृत्यु भएको र सोही वर्षको चैतबाट आमा बिमला परियार (गुरुङ्ग) पनि बेपत्ता भएपछि ४ जना बालबालिकाहरुको बिचल्ली भएको थियो । वर्ष १५ की अप्सरा, ९ की अस्मिता, ४ की अप्सना र २ का अभिषेक परियारलाई स्थानीय जनप्रतिनिधि र आफन्तको समन्वयमा उद्धार गरी मानब सेवा आश्रम गोरखा ल्याइएको छ । ‘जन्म दिने बाबु आमा नै नभएपछि यी बच्चाहरुको बिचल्ली भएको थियो’ स्थानीय समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष रिता देबकोटाले भनिन् ‘हामीले मानव सेवा आश्रमलाई आग्रह गरेयौं, उहाँहरुले उद्धार गरेर ठुलो पुण्य गरिदिनुभएको छ ।’

बुबा आमा दुबै नभएपछि कक्षा ७ मा पढ्दै रहेकी अप्सराले पढाई छोडेर भाइबहिनीको स्हारसुसार गर्दै आइरहेकी थिइन् । मेलापात र छरछिमेकी एवं आफन्तहरुले गरेको सहयोगले उनीहरुको गुजारा चलेको थियो । ‘कर्मले यस्तै पा¥यो, पढाई भन्दा भाइबहिनीको जिउ ज्यान ठुलो भयो’ सुस्केरा हाल्दै उनले भनिन् ‘दिउँसो मेलामा जान्छु ४ सय रुपैयाँ दिन्छन त्यसैले घर खर्च चल्छ नपुगेको सबैले हेरिदिनुहुन्छ ।’ अभिभावक नभएपछि निकै कष्टकर किसिमले जिवन गुजार्दै आइरहेका ती बालबालिकाहरुलाई स्थानीय टोपबहादुर क्षेत्रीको पहलमा खाद्यन्य र केही आर्थिक सहयोग जुटाइएको थियो ।

सोमबार एक कार्यक्रमका विच उनीहरुलाई मानब सेवा आश्रमले उद्धार गरेको हो । वडा अध्यक्ष झटकप्रसाद दवाडीको अध्यक्षता तथा गाउँपालिकाकी उपाध्यक्ष देबकोटाको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी उहाँहरुकी रोहवरमा गोरखा ल्याइएको हो । उनीहरुको पालनपोषण र शिक्षादिक्षाको सम्पूर्ण जिम्मा मानबसेवा आश्रमले लिएको छ । ‘मलाई धेरै पढेर ठूलो मान्छे बन्ने मन छ’ अप्सराले भनिन् ‘उहाँ गएर म राम्रोसँग पढ्छु र भाईबहिनीलाई पनि सिकाउछु ।’ हाल आश्रममा रहेका बालबालिकाहरु मनकामना इङ्लिस बोर्डिङ स्कूल सहित अन्य सामुदायिक विद्यालयमा पढिरहेका छन् ।

सोही अनुरुप उनीहरुलाई पनि पढ्ने व्यवस्था मिलाईने आश्रमकी लामाले जानकारी दिइन् । उक्त सहमती पत्रमा स्थानीय जनप्रतिनिधि, बालबालिकाका आफन्त, पत्रकार एवं सञ्चारकर्मी र मानबसेवा आश्रमकी प्रतिनिधि मुना लामाले हस्ताक्षर समेत गरेका छन् । सोही अबसरमा वडा सचिव बुद्धिप्रसाद वस्तीले आफ्नो जन्मोत्सवको अबसरमा ५ हजार ५५५ रुपैयाँको चेक मानब सेवा आश्रमलाई उपलब्ध गराएका थिए । ‘मेरो आज जन्म दिन हो, मानब सेवा आश्रमले प्रवित्र काम गरेको रहेछ’ उनले भने ‘उहाँहरुलाई मेरो मेरो थोरै भएपनि सहयोग गर्न पाउँदा धेरै खुसी लागेको छ ।’ सहयोगापेक्षी सडक मानव, अनाथ र मनोरोगीहरुलाई आश्रय दिइरहेको मानव सेवा आश्रमले गोरखामा अब ३९ जना बालबालिका भएका छन् । हेटौंडामा प्रधान कार्यलय रहेको मानबसेवा आश्रमको गोरखा सहित १४ जिल्लामा शाखा रहेका छन् ।



