नरेन्द्र ढकाल/गोरखा
फागुन १२ गते । सिरानचोक गाउँपालिकाले श्रीनाथ मण्डलीको संरक्षण अभियान सुरु गरेको छ । ऐतिहासिक उक्त कोट र त्यससँग सम्बन्धित धार्मिक महत्वबोकेका धरोधरहरु संरक्षणका लागि अभियानको थालनी गरिएको हो । ‘हामीले नेपाली सेनासँग मिलेर यी ऐतिहासिक गढीहरुलाई घेराबार गर्ने काम सुरु गरेका छौं’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने ‘हाम्रो कार्यकाल भित्र यसलाई धार्मिक ऐतिहासिक र पर्यटकिय दृष्ट्रिकोणले पहिलेकै अबस्थामा फर्काउने हाम्रो योजना छ ।’ नेपाल राज्यको एकिकरण हुनु पूर्व एक स्थानीय राज्यको रुपमा रहेको सिरानचोक डाँडा वरपर रहेका संरचनाहरुको प्रवद्र्धन गर्ने उदेश्यले गाउँपालिकाले १ करोड रुपैया बजेट समेत बिनियोजन गरेको छ । सोही अनुरुप पहिलो चरणमा कोट किल्लाहरुको सरसफाई गरी घेराबार लगाउने काम सुरु गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए । ‘अबको ५ दिन नेपाली सेनाका साथीहरु यहाँ रहेर तिन वटै कोट र किल्ला वरपरका झाडी फाड्नु हुन्छ’ उनले भने ‘उक्त कार्यका लागि हामीले वन सँग पनि आवश्यक स्वीकृती लिइसकेका छौं ।’ उक्त कोटको जग्गा एकिन गर्नका लागि आगामी सोमबार नापी कार्यालयको टोली समेत त्यहाँ जाने कार्यक्रम छ ।
हालको सिरानचोक गाउँपालिकाको वडा नम्बर २, ५, ६, ७ र ८ को संगम रहेको सिरानचोकको कोट गढिमा १६१६ ताका निर्माण भएका ३ वटा दरबारहरुको भंग्नावशेस देख्न पाइन्छ । त्यसलाई स्थानीयले ठुलो कोट, माइलो कोट र कान्छो कोटका भन्ने गरेका छन् । ती कोटहरुमा क्रमश राजा, भारदार र सेना बस्ने गरेको किम्भदन्ती छ । ‘यो ऐतिहासिक धरोहर हो, बाइसे चौबिसे राज्य भएका बेला अमरसिंह थापाले राज्य गरेको देखिन्छ’ स्थानीय सरोजबाबु ढकालले भने ‘त्यतिबेलाका भग्नावशेसहरु अहिले पनि सुरक्षित छन् । यहाँ आएर जो सुकैले पनि हेर्न सक्छ ।’
तत्कालिन समय बाइसे चौबिसे राज्यबाट गोरखा गोरखा राज्यलाई आक्रमण गर्नबाट जोगाउन सिरानचोकमा कोटगढी निर्माण गरिएको इतिहास छ । बि.सं. १६१६ मा तत्कालिन सेनाका कमाण्डर गणेश पाण्डेको नेतृत्वमा लिगलिगकोट पछि सिराचोक गढीमा आक्रमण भएको अनुसन्धानमा भेटिएको छ । ‘गणेश पाण्डेको नेतृत्वमा यहाँ आक्रमण भयो त्यसपछि छोप्रापमा बसेर गोरखा राज्य माथि आक्रमण गर्ने योजना बनाइएर गोरखा दरबार आक्रमण गरेको इतिहास छ’ गाउँपालिका अध्यक्ष गुरुङले भने ‘१६१६ देखि १८३९ सम्म सिराचोककोटले गोरखा राज्य निमार्णको क्रममा ठूलो योगदान दिएको विभिन्न प्रमाण देखिन्छन ।’ गोरखा राज्यका तत्कालिन राजा रामशाहको पालामा सिरानचोकका कोट एवं गढीहरुको निर्माण एवं व्यवस्थित गरिएको इतिहास रहेको गाउँपालिकाको दाबी छ । धार्मिक रुप पनि उत्तिकै महत्वपूर्ण रहेको उक्त स्थानमा श्रीनाथबाब र मण्डली माईको नित्य पुजा आजा हुने गरेको छ ।
स्थानीय दुई पुजारीले नियमित पुजाआजा गर्नुका साथै दशैमा पर्व पुजा समेत हुने गरेको छ । ‘सबैको आस्थाको धरोहर हो, आफ्नो मनोकामना पुरा गर्नका लागि भक्तजनहरु पुजा गर्न आउनुहुन्छ’ मन्दिरका पुजारी बिरसिंह गुरुङले भने ‘श्रीनाथबाबालाई रोट चढाउने र मण्डलीलाई बोका र परेवाको बली दिने चलन छ ।’ सो क्षेत्रका स्थानीयहरुले हरेक वर्ष नयाँ अन्न उत्पादन हुने वित्तिकै श्रीनाथ मण्डलीलाई चढाएरमा खाने गर्छन । सेनामा भर्ति हुन जानुपूर्व, जागिर खानु पूर्व, बिरामी भएमा, विदेश जानु पूर्व स्थानीयहरुले आ(आफ्नो भाकल गर्ने र मनोकामना पुरा भएसँगै भाकल पुजा गर्ने प्रचलन समेत रहेको पुजारी गुरुङले बताए । त्यहाँ न्वागी, बालचर्तुशी, नयाँ वर्ष लगायतका समयमा भक्तजनको उपस्थिती बढी हुने गरेको छ । उक्त क्षेत्रमा श्रृंगीले तपस्या गरेको समेत किम्मदन्ती छ ।
उक्त धार्मिक एवं ऐतिहासिक धरोहरको संरक्षण र सम्र्बद्ध गरी पर्यटन प्रवद्र्धन गराउने उदेश्यले गाउँपालिको आवश्यक अध्ययन समेत सुरु गरेको छ । सोका लागि गुरु योजना समेत निर्माण गरिने गाउँपालिका अध्यक्ष गुरुङले बताए । शनिवार एक कार्यक्रमका विच उक्त कोटको सरसरसफाई सुरु गरिएको छ । रणसिंह दलका गणपती चन्दनसिंह थापा सहित सेनाका उच्च पदस्थ अधिकारी, गाउँपालिकाकी उपाध्यक्ष रिता देवकोटा, प्रमुख प्रशासकिय अधिकृत भेषबहादुर कुँवर लगायत स्थानीय जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधी एवं सरोकारवालाहरुको उपस्थितीमा उक्त अभियान सुरु गरिएको हो । नेपाली सेनाका ५० जनाको टोली ५ दिन सम्म त्यही बसेर सरसफाई एवं घेराबार गर्ने कार्यक्रम छ ।




















