गोरखा समाचारदाता
गोरखा नगरपालिका ५ मा रहेको द्रव्यशाह युवा स्रोता समुहले वडाका काठे पोल विस्थापन गर्न माग गरेका छन् ।
समुहले बैठक बसी कार्ययोजना नै निर्माण गरेर वडामा रहेका काठेपोललाई तत्काल विस्थापन गरी फलामे पोल हाल्न माग गर्दै वडाकार्यालय र नेपाल विद्युत प्राधिकरण गोरखा शाखामा ज्ञापनपत्र बुझाएका हो ।
काठेपोलका कारण गाउँघरमा जोखिम बढेको भन्दै समुहले फलामे पोल राख्न माग गरेको अध्यक्ष घनश्याम थापा मगरले बताए । ‘काठको पोलले जोखिम बढाएको छ, दुर्घटना निम्त्याउन सक्ने सम्भावना छ, सबै पोल पूराना भइसकेका छन्’ स्रोता समुहका अध्यक्ष थापाले भने ‘चुनावमा वडाध्यक्षले फलामे पोल राख्ने प्रतिवद्धता पनि गर्नुभएको हो, अहिलेसम्म सुरु नै नभएकाले हामीले पहल थालेका हौ ।’
समुहकै सदस्यहरुको सकृयातामा वडा नम्बर ५ भर कति वटा काठे पोल छन् र कति विस्थापन गर्नुपर्ने अवस्थाका रहेकाछन् भन्ने बारे समेत स्थलगत अध्ययन गरी वडा कार्यालयलाई विवरण बुझाएको छ । सो विवरण समुहले विद्युत प्राधिकरणमा समेत बुझाएको बताएका छन् ।
यता वडाध्यक्ष रामकुमार थापा मगर पनि चुनाव प्रचारका बेला आफुले वडालाई काठे पोल मुक्त बनाउने प्रतिवद्धता गरेको स्विकार्छन् । ‘हो चुनावमा मैले भनेको हो, वडाध्यक्ष निर्वाचित भएपछि फलामे पोल राख्न मैले पहल नगरेको पनि होइन, विद्युत कार्यालयमा बारम्बार भनेको छु, उहाँहरु जहिले पनि पोल छैन मात्रै भन्नुहुन्छ’ उनले भने ‘अहिलेसम्म हाम्रो वडामा कति काठे पोल छन् भन्ने एकिन डाटा पनि हामीसंग थिएन, तर स्रोता समुहका भाइहरुले त्यो सबै तथ्यांक हामीलाई दिइ सक्नु भएको छ, अब काम अघि बढ्छ ।’
त्यस्तै द्रव्य शाह युवा स्रोता समुह र वडा कार्यालय बिच वडाको विकासका काममा सहकार्य र समन्वय गरी अघि बढ्ने समेत सहमती भएको छ । यस वडामा नागरिक समाज पारस्परिक जवाफदेहिता अभियान अन्तरगत केहि महिना अघि स्रोता समुह गठन भएको हो ।


