नरेन्द्र ढकाल/गोरखा
फागुन १० गते । धार्चे र चुमनुब्री गाउँपालिकाका विद्यार्थीहरुले माछाखोलाबाट एसइई परिक्षा दिन पाउने भएका छन् । पहिलो पटक स्थानीय जनजागृती आधारभूत विद्यालयमा केन्द्र कायम गरिएपछि धार्चेका ७ र चुमनुब्रीको बुद्ध आवासिय मावि सिद्धिबासका गरी करिब १३० जना विद्यार्थीले परिक्षा दिन लागेका हुन् । ‘हाम्रो गाउँपालिकामा अहिले सम्म एउटा पनि केन्द्र कायम हुन सकेको थिएन’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने ‘शिक्षा र प्रशासन सबैको सहयोगमा पहिलो पटक केन्द्र कायम गर्न सफल भएका छौं । यसले यहाँका विद्यार्थीहरुलाई ठूलो राहत मिल्छ भन्ने हाम्रो विश्वास छ ।’
सोही अनुरुप अब धार्चे र चुमनुब्रीका विद्यार्थीहरु परिक्षा दिनका लागि आरुघाट वा सदरमुकाम आउनुपर्ने बाध्यता हटेको हो । शान्त र भयरहित तबरले परिक्षा दिने वातावरण समेत निर्माण भइरहेको धार्चे गाउँपालिकाको दाबी छ । ‘हाम्रो मात्र होइन चुमनुब्रीका भाईबहिनीहरुलाई पनि यसले ठूलो राहत दिन्छ’ उनले भने ‘अन्यत्र गएर परिक्षा दिदा महंगोमा खाने बस्ने बाध्यता पनि हटेको छ ।’ विद्यार्थीहरुका लागि खानेबस्ने ठाउँको उचित प्रबन्ध गरी दररेट पनि निर्माण गरिएको छ । त्यहाँका कुनै व्यापारी÷व्यवसायीले विद्यार्थीलाई ठग्न नसक्ने अध्यक्ष गुरुङले दाबी गरेका छन् । ‘बच्चाहरुलाई राख्ने भवन पनि तयार गरिसकेका छौं खानपानको व्यवस्था गर्नका लागि एउटा व्यवस्थापन समिति गठन गरिएको छ’ उनले भने ‘खानाको प्रतिव्यक्ति १३० र सुतेको ५० रुपैयाँ दररेट पनि तोकिएको छ ।’
मुलकमा संघियता कायम भएसँगै बनेको स्थानीय सरकारको उदेश्य र भावना अनुसार नै गाउँपालिकाले एइईको केन्द्र निर्धारण गरेको उनले बताए । दुई गाउँपालिकाका विद्यार्थीहरुलाई लक्षित गरि एउटा केन्द्र निर्धारण भएपनि प्रयाप्त नभएको कतिपयको गुनासो छ । ‘परिक्षाको केन्द्र कहाँ कति बनाउने भन्ने हाम्रो मात्र चाहनले हुँदैन’ अध्यक्ष गुरुङले भने ‘अहिले यति हुनु पनि धेरै ठूलो कुरा हो ।’ पहिलो पटक गाउँमै परिक्षा दिन पाउने भएपछि विद्यार्थी समेत खुसि भएका छन् ।


