मोहसिन अलि मियाँ/गोरखा
फागुन ७ गते । गण्डकी प्रदेश सरकारले सुरु गरेका योजना कुनै पनि सफल नभएको नयाँ शक्ति नेपालका नेता एवं प्रदेशसभा सदस्य हरिशरण आचार्यले बताएका छन् । हिजोको सरकारले सुरु गरेका योजना पूरा हुनै नदिई एकातिर फालेर नयाँ सुरु गर्न खोज्दा भद्रगोलको स्थिती पैदा भएको भन्दै आचार्यले विकासका कामलाई फकुण्डो खेल बनाइएको टिप्पणी गरेका छन् । ‘सरकारले सुरु गरेका एउटा पनि काम एक बर्ष बित्दा समेत पूरा भएको देख्नै पाइएन’ उनले भने ‘विकासलाई भकुण्डो बनाइयो, एउटा सरकार आउछ पूरानो फाल्छ, अर्को आउछ त्यसलाई पनि फेरी फाल्छ । कहिल्यै पूरा हुन पनि नदिने, अधुरो बनाइराख्ने जुन प्रवृत्ति बन्यो यसले देश भद्रगोल बन्यो ।’
विकासका नाममा परम्परागत राजनिति छाडेर आर्थिक विकास र सम्बृद्धिको बाटोमा नगएसम्म हामीले चाहे जस्तो देश नबन्ने ठोकुवा आचार्यको छ । आफ्नो अभियानलाई सफल बन्न प्रतिपक्ष सहित सबैलाई एकसाथ लिएर जानुपर्नेमा एकलौटी ढंगबाट अघि बढेको बताउदै उनले सरकार भ्रष्ट्राचार गर्न र लुट्ने काममा लागिपरेको आरोप लगाएका छन् । ‘सरकार आफु सफल बन्नका लागि पनि सत्तापक्ष, प्रतिपक्ष सबैलाई लिएर अघि बढ्नुपर्ने होइन ?’ प्रतिप्रश्न गर्दै साँसद आचार्यले भने ‘एक बर्ष नजिकबाट हेरयौ, सरकार त कहाँ लुट्न पाइन्छ, कहाबाट हिजोका चुनावी खर्च असुल्ने भन्ने तिर नै केन्द्रित भएको देख्छौ ।’
गण्डकी प्रदेश सरकारले मन्त्रालयहरुमा शिर्षक नै नबनाई बजेट छुट्याएको भन्दै आचार्यले आफ्नो ढंगले अविवेकी निर्णय गरेको बताएका छन् । भ्रष्ट्राचार गर्नैका लागि शिर्षक बिना पोका पोका बनाएर बजेट बनाएको आरोप उनको छ । ‘सरकारले बजेट बनाएर खर्च गर्ने माध्यम मात्रै बनाएको हो । साच्चै भन्दा त्यो भ्रष्ट्राचारको पोका मात्रै हो । न त्यसले कुनै रिजल्ट आउछ न कतै लगानी नै हुन्छ ।’ उनले भने ‘वास्तवमा यो सरकार कुनै योजना कार्यान्वयनमा लागेको देखिदैन ।’
शुसासनका लागि पहिला भ्रष्ट्राचारको नियन्त्रण आफैबाट सुरु गर्न सुझाव दिदै आचार्यले आम जनतालाई संगै लिएर विकासको साझेदार बनाउनुपर्नेमा जोड दिए । राजनैतिक रुपमा आफुले असल चरित्र ग्रहण गर्न सक्नुपर्छ भन्दै आफ्ना मुद्धाहरुलाई स्पष्ट रुपमा सँसदमा राख्ने गरेको बताउदै उनले नयाँ शक्ति भएकै कारण आफुलाई फरक दृष्टीकोणबाट हेरिने गरेको बताए । ‘र्ससर्ति हेर्दा मुख्य प्रतिपक्ष काँग्रेस जस्तो देखिएपनि सारमा नयाँशक्तिलाई मेन ताग्रेड गरेर फरक तरिकाले हेर्ने गरेको मैले बुझेको छु’ साँसद आचार्यले भने ‘संसदमा पनि हामी अरुले भन्दा फरक प्रतिपक्षको भुमिकामा छौ, असल राजनितीको अभ्यास गर्दैछौ ।’




















