दीपक श्रेष्ठ/गोरखा
फागुन ६ गते । भुकम्पले क्षति पु¥याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाई भएको छ । पुनःनिर्माणको काम शुरु भएको करिव १५ महिना बितिसक्दा पनि दरबारको जग निर्माण बाहेकको काम अघि बढ्न नसकेको हो । राष्ट्रिय पुरातत्व बिभागले २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसंग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो ।
पुनःनिर्माणको काम शूरु भएदेखि अहिलेसम्म पटक–पटक कहिले कामदारको अभाव त कहिले सामान दुवानीको समस्या लगायतका कारण देखाउदै काम रोकिने गरेको छ । ‘अहिलेसम्म दरबारको जग बाहेक अरु काम अघि बढेको छैन, गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले भन्नुभयो, अब केही दिनमा काठको थाम राख्ने काम शूरु हुन्छ भनेका छन् ।’
अहिले दरबारका लागि नाप अनुसारको काठको अभाव भएको जानकारी आफुलाई ठेकेदार कम्पनीका प्रतिनिधिले दिएको उहाँले जानकारी दिनुभयो । ‘तत्काल नै दरबारको थाम राख्नका लागि मात्र कम्तिमा १ सय क्युफिट काठको आबश्यकता पर्ने रहेछ, कट्टेलले भन्नुभयो, करिव ६० थान काठ एकदुई दिन भित्रमा आउछ भन्ने जानकारी छ, बाँकी काठको अझै समस्या छ ।’
पुनःनिर्माणका लागि दरबार भत्काउने बेला देखि नै कामदारहरु आउने र काम छोडेर जाने गरेकाले पनि निर्माणमा ढिलाई भएको उहाँको भनाई छ । निमित्त प्रमुख कट्टेलले प्राबिधिक अनुगमन प्रभावकारी हुन नसक्दा ठेकेदारले काममा ढिलासुस्ती गरेको बताउनुभयो । ‘काम अन्यन्तै सुस्त भएपछि मैले नै ठेकेदार कम्पनीका प्रतिनिधिलाई बोलाएर किन अघि बढ्न नसकेको हो जानकारी पनि लिएँ ।’ उहाँले भन्नुभयो ।
ठाँउको अभावका कारण निर्माण सामाग्रीहरु ल्याएर राख्न समेत समस्या भएको र निर्माण सामाग्री कमी हुदा एकैपटक सवै कामदारलाई काम लगाउन नसकिएकाले ढिलाई भएको जानकारी ठेकेदार कम्पनीका प्रतिनिधिले दिएको उहाँले बताउनुभयो ।
जग निर्माणकै क्रममा दरबारको पूर्वी इसान भागमा राजगद्दी भन्दा केही पछि रहेको ढुङगामा लकासी राख्न मिल्ने या नमिल्ने भन्ने अन्यौलता रहेको उहाँले बताउनुभयो । ‘उक्त ढुङगा थोरै काँटछाँट गर्न मिल्छ की मिल्दैन, ढुङगामा लकासी राख्न पाइने हो की होइन त्यसका लागि इन्स्ट्रक्चर इन्जिनियर नै आबश्यक पर्ने रहेछ, कट्टेलले भन्नुभयो, यस्ता खालका साना–तिना समस्याले पनि काममा ढिलासुस्ती हुने गरेको छ ।’
पुरातत्व बिभागले २०७६ पुस महिना भित्रमा दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी सिवाको जेभी कन्सट्रक्सनसगं ठेक्का सम्झौता गरेको थियो । तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको अनुमान गरीएको गोरखा दरबार करिव ४ करोड ३७ लाख लागतमा पुनःनिर्माण शुरु गरिएको हो ।
नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पु¥याउनु भएका तत्कालिन राजा पृथ्वी नारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपुर्ण ऐतिहासिक स्थल मानिन्छ । गोरखा सदरमुकाम भन्दा माथि पहाडको टुप्पामा रहेको यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको रहेको छ भने गोरखकाली मन्दिरको मुनीतिर गुफामा गोरखनाथको मन्दिर समेत रहेको छ ।


