कश्मीरमा केही वर्षयताकै सबभन्दा घातक भनिएको आक्रमणबारे बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसमा संलग्नहरूलाई दण्ड दिइने बताए।
उक्त घटना भएको भोलिपल्ट बोल्दै उनले भने, “म देशलाई यो विश्वास दिलाउन चाहन्छु कि आक्रमणका पछाडि जुन शक्ति छ, जो अपराधी छन् तिनलाई अवश्य सजाय मिल्नेछ।”
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह र विपक्षी दल कांग्रेसका अध्यक्ष राहुल गान्धी पनि सो घटनाको निन्दा गरेका छन्।
पाकिस्तानप्रति आक्रोश
दिल्लीको रेलवे स्टेशनमा नयाँ रेल सेवा उदघाटनको कार्यक्रममा बोल्दै मोदीले भने, “यो समय एकदमै संवेदनशील र भावुक क्षण हो। पक्ष वा विपक्ष, हामी सबै राजनीतिबाट टाढा रहौँ।”
“यो आक्रमणविरुद्ध देश एकजुट भएर मुकाबिला गरिरहेको छ। देश एकताबद्ध छ। देशको एउटै स्वर छ र यही स्वर विश्वमा सुनिनु पर्छ किनकि यो लडाइँ हामी जित्नका निम्ति लड्दैछौँ।”
मोदीले पाकिस्तानप्रति सङ्केत गर्दै भने, “संसारभरि एक्ल्याइएको हाम्रो छिमेकी देश यदि यो ठान्छ कि ऊ भारतमा अस्थिरता उत्पन्न गर्न सफल हुन सक्छ भने उसले त्यो सपना देख्न छाडिदेओस्। नराम्रो अवस्थाबाट गुज्रिरहेको हाम्रो छिमेकीले यस्तो वितण्डा मच्चाएर भारतलाई अस्तव्यस्त पार्ने प्रयास पूरा हुने छैन।”
A grateful nation bows to the martyrs of Pulwama.
A befitting reply will be given to the perpetrators of the heinous attack and their patrons.
No force will succeed in disturbing peace, progress and stability of India. pic.twitter.com/hFq0pUByVJ
— Narendra Modi (@narendramodi) February 15, 2019
उनले आतङ्कवादविरुद्ध सबै मानवतावादी शक्तिहरू एक भएर लड्नुपर्ने बताए।
पाकिस्तानले भने सो घटनामा आफू संलग्न नभएको दाबी गरेको छ।
उसले सो घटना गम्भीर चिन्ताको विषय भएको बताएको छ।
ओलीको फोन
घटनालगत्तै प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी मोदीलाई फोन गरेका थिए।
फोनमा घटनाबारे समवेदना प्रकट गर्दै पीडितका परिवारप्रति सहानुभूति प्रकट गरेको उनले ट्विटरमा उल्लेख गरेका छन्।
बिहीवार नै नेपालको परराष्ट्र मन्त्रालयले कश्मीरमा भएको हमलाको निन्दा गर्दै वक्तव्य निकाल्यो।
उसले नेपालले सधैँ सबै प्रकारका आतङ्कवादको निन्दा गर्ने गरेको भन्दै त्यस्ता जघन्य कार्यलाई कुनै पनि बहानामा उचित ठान्न नसकिने उल्लेख गरेको छ।
भारत प्रशासित कश्मीरको पुलवामा भन्ने ठाउँमा अर्धसैनिक बलका जवानहरू चढेको गाडीको लस्करमा भएको आत्मघाती विस्फोटनमा कम्तीमा ४० जना अर्धसैनिक मारिएका छन्।
प्रहरीले बीबीसीलाई जनाएअनुसार विस्फोटक पदार्थले भरिएको एउटा कार अर्धसैन्य बलका जवान बोकेको बससँग ठोक्काइएको थियो।
पोहोर कश्मीरमा हिंसा बढेको थियो। एक दशकमा सो वर्ष सर्वाधिक धेरै मानवीय क्षति भएको बताइन्छ।
सन् २०१८ मा त्यहाँ कम्तीमा पाँच सय जनाको मृत्यु भएको बताइन्छ। हताहत हुनेमा गैरसैनिक, सुरक्षाकर्मी र लडाकुहरू पनि छन्।
BBC


