मोहसिन अलि मियाँ/गोरखा
देश काण्डै काण्डमा फसेको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आरोप लगाएका छन् । मध्यपहाडी लोकमार्ग जनसंवाद तथा जागरण यात्राका क्रममा गोरखा आइपुगेका नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले पछिल्लो समय सरकार चलाउने नेता नै बिभिन्न काण्डमा फसेर देश सिध्याएको बताएका हुन् । ‘कहिले सुन काण्ड, कहिले वाइडवडी काण्ड, अहिले एनसेल देखि फोर जि काण्ड’ उनले भने ‘सबै काण्डै काण्डमा फस्ने नेताले चलाएको देशमा कसरी संबृद्धि आउछ, यो कस्तो राजनिति हो ?’
देशको मुहार फेर्न राजनिति सङ्गलो हुनुपर्ने बताउदै डा. भट्टराईले अब जनताको हातमा अधिकार आउनुपर्नेमा जोड दिएका छन् । पूर्वदेखि पश्चिमसम्मको एक महिने यात्राका क्रममा १५ दिनमा आफ्नै निर्वाचन क्षेत्रको सिरानचोक गाउँपालिकाको चोरकाटेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले राजनितिमा शुसासन र जवाफदेहिताको खाँचो रहेको बताएका छन् । ‘अब राजनितिलाई सफा र सङ्गलो बनाउनु आवस्यक छ, नेताहरु शुसासन र जवाफदेहि बन्न जरुरी छ’ उनले थपे ‘जनतालाई अधिकारमा नल्याई देशमा विकास र संबृद्धि सम्भव छैन ।’
देश विकासका लागि ब्यक्तिगत र पार्टीगत स्वार्थ त्याग्नै पर्ने उनको तर्क छ । स्वार्थबाट अलग भई सबै मिलेर अघि बढ्नुपर्ने बताउदै भट्टराईले अझै पनि देशमा गरिवीको समस्या उस्तै रहेको प्रति चिन्ता ब्यक्त गरे । ‘अहिले देशमा स्वार्थी राजनिती छ, देश बनाउन हामी सबैले ब्यक्तिगत स्वार्थ त्याग्नै पर्छ, सबै मिलेर अघि बढ्नै पर्छ’ उनले भने ‘अझै पनि गरिव देशको लिष्टमा २८ मध्ये हाम्रो देश २५ औं मा छ, कहिलेसम्म भोग्ने यो सास्ती र पिडा ?’
विकास र संबृद्धि एउटा मात्रै पार्टीको एजेण्डा नभएको भन्दै भट्टराईले अब अरुलाई दोष लगाउन छोड्नुपर्ने बताएका छन् । अरुलाई दोष लगाएर आफु चोखिने प्रबृत्ति नरोकिए देश अझै समस्याको भुमरीमा फस्ने उनले बताए । ‘विकास एउटा पार्टीले मात्रै चाहेको होइन, सबैले चाहेकै छौ, सबैको एजेण्डा नै विकास र संबृद्धि हो’ उनले थपे ‘अब अरुलाई दोष, आरोप लगाउने प्रबृद्धि छोडौ, सबैले जिम्मेवारी लिउँ, दायित्व पूरा गरौ परिवर्तन असम्भव छैन ।’
पूर्वदेखि पश्चिमसम्मका जनताको भावना बुझ्न आफुले यो यात्रा सुरु गरेको बताउदै उनले जनताको आशा अझै बाँकी रहेको बताएका छन् । देशका अधिकांश जनता कृषि पेशामा आश्रित रहेकाले अब आधुनिक प्रणालीको प्रयोग गर्दै उत्पादनमा लाग्नुपर्ने भट्टराईले बताए । ‘मध्य नेपालका जनताको कुरा सुन्न मैले यो यात्रा सुरु गरेको हुँ, अझै पनि बहुसंख्यक जनता कृषि मै छन्, तर धेरै परम्परागत मै छन्’ उनले भने ‘अब कृषिमा पनि बैज्ञानिक प्रविधिको प्रयोग आवस्यक छ, त्यसका लागि राज्यले सहि नीति बनाएर अघि बढ्न जरुरी छ ।’
आफु प्रधानमन्त्री भएको बेला मध्यपहाडी लोकमार्गलाई राष्ट्रिय गौरबको आयोजना घोषणा गरेर निर्माणको काम राज्यकै निगरानीमा अघि बढाएको उनले स्मरण गरे । यो लोकमार्गले एउटा जिल्लाको मात्रै नभई मध्य नेपालकै स्वरुप फेरिने निश्चित रहेको उनले बताए । मध्य पहाडी लोकमार्गको सुरुवात बिन्दु पूर्वी पाँचथरको चियोभञ्जाङबाट जन संवाद यात्रा सुरु गरेका भट्टराई धादिङ हुँदै गोरखा आइपुगेका हुन् । जनताको पिर मर्का सुन्न, असल राजनितिको अभ्यास गर्न र स्थानीय तहका समस्य बुझेर संसदमा छलफल गर्न लगायतका उदेश्यले यात्रा सुरु गरिएको उनले बताए ।
मंगलबार चोरकाटेमा आयोजित कार्यक्रममा सिरानचोक ४ का वडाध्यक्ष दिपक हमाल, ५ का सन्तोष गुरुङ, ६ का नारायण दानी र पालुंटार नगरपालिका १ का कृष्ण परियारले स्थानीय तह संचालनका क्रममा भोगेका समस्या राखेका थिए । त्यस्तै कार्यक्रममा भट्टराई स्थानीयसंग समेत अन्तरकृया गरेका छन् । भट्टराई आज पालुंटारमा कार्यक्रम गरि लमजुङ जाने नयाँ शक्ति गोरखाका संयोजक ज्ञानेन्द्र कुमालले जानकारी दिए । यात्रामा उनि सहित केन्द्रिय स्तरका नेता तथा कार्यकर्ताको समेत सहभागिता रहेको बताइएको छ ।




















