नरेन्द्र ढकाल/गोरखा
माघ २८ गते । जिल्लाका विभिन्न स्थानमा विद्युत चोरी गर्नेहरुबाट ८लाख भन्दा बढिको जरिवाना असुली गरिएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोरखाले गरेको चुहावट नियन्त्रण अभियानका क्रममा उक्त रकम संकलन भएको हो । ‘हामीले यो विचमा ताक्लुङ, मनकामना घैरुङ, पालुङटार नगरपालिका लगायतका विभिन्न ठाउँमा छड्के चेकजाँच गरेका थियौं’ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले भने ‘८० जनालाई कारवाही गर्दा करिब ८ लाख जरिवाना समेत संकलन भएको छ ।’ सो क्रममा ठूलो मात्रामा चोरीमा संलग्न विद्युतिय सामाग्रीहरु जफत गरिएको कार्यालयले बताएको छ ।
यो अवधिमा करिब ३२ हजार युनिट चोरी भएको विद्युतको महसुल समेत असुल्न सफल भएको कार्यालय प्रमुख न्यौपाने बताए । ‘भूकम्प पछि बनेका घर एवं वस्ती, काठ चिर्ने एवं ढुङ्गा काट्ने मेसिन, ग्रिल उद्योग, पानी तान्ने मोटर लगायत विभिन्न ठाउँमा विद्युत चोरी गर्ने गरेको भेटिएको छ’ उनले भने ‘धेरै व्यक्तिहरु चोर्न हुन्न भन्ने विषयमा जानकार हुनुहुन्छ तर पनि चोरिरहनुभएको पाइन्छ ।’
त्यसलाई नियन्त्रण गर्नका लागि विभिन्न खालका सचेतना मुलक अभियान र छड्के चेकजाँचलाई सँगसँगै अगाडी बढाईएको छ । जथाभावी विद्युत चोरी हुँदा दुर्घटनाको जोखिम समेत बढाएको उनले बताए । ‘कतिपयले मिटर नै बाइपास गरेर चोर्ने गरेको भेटिन्छ । कतै कम महशुल उठ्ने गरी प्रणाली नै परिवर्तन गर्ने खालका काम पनि भएका छन्’ न्यौपानले भने ‘केहीले नजानी÷नजानी पनि उक्त काम गर्नुभएको छ । त्यसले दुर्घटनाको जोखिम बढाएको छ ।’ चुहावट नियन्त्रण अभियानलाई विशेष प्राथामिकता दिने कार्यालयको योजना छ ।




















