गोरखा समाचारदाता
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पहिलो पुस्ताले नेतृत्व छोड्नु पर्ने बताएका छन् । नेपाल प्रेस युनियन गोरखाले जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अब नेतृत्व युवा पुस्ताको काँधमा जानुपर्नेमा जोड दिएका हुन् । ‘पहिलो पुस्ताले हाँक्दा पार्टी जमेको पोखरी जस्तो भयो’ उनले भने ‘यसलाई नदि जस्तो सलसल बग्ने बनाउनु आवश्यक छ त्यसका लागि पहिलो पुस्ताले विश्राम लिनु पर्छ ।’
पहिलो पुस्ताका नेताले अहिलेसम्म गरेको योगदानलाई सम्मान गर्दै उनीहरूलाई अभिभावक मानेर अब पार्टी नेतृत्व लिन यूवा नेताले लिनुपर्ने उनको जोड छ । यदी त्यसो हुने हो भने आफू जुनसुकै भुमिका निर्वाह गर्न पनि तयार रहेको भन्दै नेता थापाले कथाले मागे सभापतीमा लढ्ने बताए । ‘अब आउने अधिवेश हाम्रो पहिलो पुस्ता विश्राम दिने अधिवेशन बनाउने क्रममा कथाले जे माग्छ महामन्त्री, उपसभापती या केन्द्रिय सदस्य जे उठ्न पनि तयार छु’ उनले भने ‘यदी कोही कसैले आँट गरेनन् भने सभापतीमा उठ्न तयार छु ।’ नेपाली काँग्रेसको विगत गर्भ गर्न लायक भएपनि अब त्यसले नपुग्ने भन्दै उनले वर्तमान र भविष्यको नेतृत्व गर्न सक्ने पार्टी बनाउनु सोही किसिमको नेतृत्व आवश्यक परेको बताए ।
फरक प्रशङ्गमा नेता थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा अहङकारको टकराब भएको भन्दै त्यसैको प्रभाव सरकार र स्वम् नेकपामा समेत देखिएको दाबी गरेका छन् । ‘यो पार्टी स्वार्थ, लोभ र विशुद्ध निर्वाचन जित्नका लागि बनेको हो’ उनले भने ‘त्यसैले यसले केही गर्न सक्दैन त्यसको छनक एक वर्षमा देखिइसेको छ ।’ नेकपाका अध्यक्ष प्रचण्डले नयाँ माओवादीको जन्म हुन सक्छ अब भन्नुले उक्त कुरा स्पष्ट भएको भन्दै प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले वर्तमान नेकपाको सरकार पुर्ण रुपले असफल साबित भइसकेको दाबी गरेका छन् । भेनेजुयला प्रकरण प्रति इगित गर्दै उनले नेपालको विदेश नीति अहिले सम्मकै उदांगो भएको भन्दै प्रचण्डको जिब्रो चिफ्लियो भनेर सरकारले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको तर्क गरेका छन् ।
केन्द्र सरकारको कारण अहिले प्रदेश निकम्बा हुने अबस्था आएको भन्दै उनले काम गर्न चाहने स्थानीय तहहरुलाई पनि अंकुश लगाउने काम भएको बताए । दुई तिहाई बहुमतको सरकारले निरङकुश चरित्र देखाएको भन्दै उनले अहिले सम्म प्राप्त उपलब्धी गुम्ने खतरा समेत औंल्याएका छन् ।


