नरेन्द्र ढकाल/गोरखा
माघ २६ गते । बिन्द्रावती माविको जग्गा विवाद अझै समाधान हुन सकेको छैन । भिमसेन थापा गाउँपालिका–१ मसेल स्थित उक्त विद्यालयमा जग्गा विवादको विषयलाई लिएर स्थानीय राजनितिक दल एवं अभिभावकहरु आपसी आरोप÷प्रत्यारोपमा उत्रिएका छन् । ‘वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष÷उपाध्याक्ष, शिक्षा समिति कोही पनि बिन्द्रावतीको समस्या प्रति जिम्मेवार हुनुहुन्न्’ स्थानीय अभिभावक रहेका नेकपाका बिनोद पाण्डेले भने ‘विद्यालय जस्तो ठाउँमा पनि उहाँहरु राजनिति गरिरहनु भएको छ ।’
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष बद्रिनाराण श्रेष्ठले प्रधानाध्यापकले राजनिति गर्दा अहिलेको समस्या निम्तिएको दाबी गरेका छन् । अध्यक्षलाई थाहै नदिई समितिको बैठक बोलाउने, आफू खुसि निर्णय गर्ने, आर्थिक पारदर्शीता कायम नगर्ने लगायतका कारणले विवाद बढेको उनले बताए । ‘हेड सरले राजनिति गर्नुभयो, शिक्षाको गुणस्तर उकास्ने तर्फ उहाँको ध्यान छैन’ उनले भने ‘कसरी कमाऔं, कसरी नेता बनौं भन्ने तर्फ उहाँ लाग्नु भएको छ । विद्यालयको विवाद मिलाउन आफू प्रतिवद्ध रहेको भन्दै उनले समितिलाई बाइपास नगर्न प्रधानाध्यापकलाई चेतावनी समेत दिएका छन् । तर प्रधानाध्यापक उत्तरनाराण श्रेष्ठले भने समिति जिम्मेवार नरहेको आरोप लगाएका छन् । विद्यालयमा पढाउने वातावरण समेत नभएको उनको गुनासो छ । अध्यक्ष नेपाली काँगेस र प्रधानाध्यापक नेकपा निकट हुन् ।

केही दिन अघि जग्गाको निउमा विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका शिबनारायण श्रेष्ठले प्रधानाध्यापक उत्तरनाराणलाई हातपात गरेपछि यो घटना बाहिर आएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष बद्रिनारायणले विद्यालयका लागि २ रोपनी ७ आना जग्गा दान गरेको विद्यालयको दाबी छ । उक्त जग्गा अंशबण्डाको क्रममा उनका छोरा शिवनारायणको नाममा परेको थियो । २०६७ साल फागुन ११ गते विद्यालय व्यवस्थापन समितिको बैठक उनले उक्त निर्णयमा हस्ताक्षर समेत गरेका थिए । ‘विद्यालयको नयाँ भवन रहेको गराको पूर्व भागको जग्गाको कुना तर्फको बुढो खनायोको रुखबाट दुई मिटर पूर्व तर्फ सम्मको जग्गा स्वेच्छाले हस्तान्तरण गर्नुभएको व्यहोरा अनुमोदन गरियो’ बैठकको निर्णयमा लेखिएको छ । ‘उक्त साँधको सीमाना गराको छेउ सम्म (उत्तर तर्फ) र बाटो सम्म (दक्षिण तर्फ) कायम गर्ने र उक्त जग्गा विद्यालयका नाममा रजिष्ट्रेसन पास गर्ने सर्बसम्मत निर्णय गरियो ।’ माइन्युटको ३ नम्बरमा बद्रिनाराण श्रेष्ठको हस्ताक्षर छ । ‘बाबुल दिनुभयोजग्गा अहिले छोराले हाम्रो हो भन्नुहुन्छ’ तत्कालिन समयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलाधर भट्टले भने ‘त्यत्तिबेला गाउँको जग्गाको भ्यालु थिएन दिइहाल्नु भयो अहिले भ्यालु बढ्यो अनि बिवाद निकाल्नुभयो ।’
यता जग्गादाता शिवनाराणले पनि आफ्नो जग्गा हडप्ने उदेश्यले विद्यालयले काम गरेको भन्दै असन्तुष्टि जनाएको छन् । पहिले पनि विद्यालयलाई जग्गा दिएको र आवश्यकता पर्दा फेरी पनि दिन तयार भएको भन्दै उनले प्रधानाध्यापकको हेपाह प्रवृत्तिले मात्र समस्या निम्त्याएको दाबी गरेका छन् । ‘बरु मौसम परिवर्तन होला हाम्रो मन परिर्वतन हुँदैन । विद्यालयलाई जति जग्गा चाहिन्छ म दिन तयार छु’ उनले भने ‘जव विद्यालयमा हेटमास्टरले गरेको अनियमिता बारे मैले प्रश्न गरेँ त्यसपछि मलाई सिध्याउने खोजियो ।’ जाइकाले स्टमेट तयार गर्दा हाल विवाद भएको ठाउँमा भवन बनाउने योजना समेत नभएको उनले दाबी गरेका छन । ‘पहिलेको स्टमेट अर्के छ । जग्गा हडप्ने उदेश्यले यो सब गरिएको हो ’ उनले भने ‘त्यो भवन हाल शौचालय भएको ठाउँमा बन्नु पर्ने थियो उहाँहरुले आफू खुसि यहाँ बनाउन भएको छ ।’

विवाद सतहमा आएपछि जग्गा नाप्नका लागि विद्यालयले मसेलमा नापी समेत लगेको थियो । तर गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले अनुमती बिना ननाप्न भने पछि उक्त टोली फिर्ता भएको थियो । ‘यो यहाँहरुकै समस्या हो । यहाँहरु नै मिल्नु पर्छ’ उक्त विद्यालयको निरिक्षणका क्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले भने ‘नापी आएको रहेछ अहिले जग्गा नाप्नुहोस् रिर्पोट आउँछ अनि हेरौंला ।’ यद्यपी बुधबार उक्त जग्गाको नापजाँच गरिएको छ । उक्त विषयमा विद्यालय प्रधानाध्यापक माथि हातपात एवं दुव्र्यवहार गरिएको भन्दै प्रहरीले शिवनारायणलाई नियन्त्रणमा लिई कारवाही गरेर छोडेको छ ।


