भउचप्रसाद यादव
काठमाडौँ, माघ २४ गते । सफाइ गरी पहिलेकै मौलिक अवस्थामा बागमतीलाई फर्काउन विभिन्न उपायहरू आउने गरेका छन् । यस्तै उपायमध्ये बागमतीको विभिन्न ठाउँमा फलामको जाली राखेर नदीमा बग्ने ठोस फोहोरलाई सहज रूपमा सङ्कलन गर्ने विधि प्रभावकारी हुनसक्ने उपाय सुझाइएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका उपआयोजना प्रमुख योगेन्द्र चित्रकारले बागमती नदीसहित यसका सहायक खोलाहरूमा फलामको जाली जडान गरी पहिलेको भन्दा सहज रूपमा बागमती सफाइ गर्न सकिने बताउनुभएको छ । बगेर जाने ठोस फोहोरलाई जाली मार्फत रोकी सहज रूपमा ती फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्न सकिने उहाँको सुझाव छ ।
प्रमुख चित्रकारले भन्नुभयो, ‘जाली राखेर नदी र खोलाको सफाइ गर्न सकिए पनि यसका लागि जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने हुन्छ ।’
काठमाडौँको नदी र खोलामा बढी मात्रामा ठोस फोहोर बग्ने भएको हुनाले पानी परेको बेला जालीका कारणले फोहोर जम्मा भई नदी थुनिन गई सम्बन्धित क्षेत्रमा बाढी समेत आउन सक्ने भएकाले जालीमा जम्मा भएका फोहोर हटाउनका लागि निरन्तर अवलोकन गरी जनशक्ति र उपकरण तैनाथी अवस्थामा राख्नुपर्ने बताइएको छ ।
यसअघि २०७३ सालमा बाग्मती र टुकुचाको दोभानमा ठोस फोहोर सङ्कलनका लागि तार जाली राखिएकोमा ठोस फोहोर जम्मा हुन गई टुकुचा खोला नै अवरोध भएको तथा पुनः पहिलेकै अवस्थामा फर्काउन दुई महिना लागेको स्मरण पनि उहाँले सुनाउनुभयो । त्यसैगरी, काठमाडौँको नदी र खोलामा यहाँको उद्योगका रसायनिक पदार्थ बग्ने भएको हुनाले फलामको जाली चाँडै नै खिइने गरेको उहाँले बताउनुभयो ।
पूर्वसचिव तथा बागमती सफाइ अभियन्ता किशोर थापाले नदीमा तारजाली राखेर अस्थायी रुपमा ठोस फोहोर सङ्कलन गर्न सकिए पनि दीर्घकालीन रूपमा यो तरिका उपयुक्त हुन नसक्ने बताउनुभयो ।
वातावरणीय दृष्टिकोणले समेत नदी सफाइको यो तरीका उपयुक्त हुन नसक्ने बताउँदै उहाँले नदी तथा खोलामा रहने जलचरको संरक्षणमा हानी पु¥याउनुका साथै पानीको बहावमा अवरोध तथा नदीको सम्पूर्ण दृश्यलाई नै बिगार्न सक्ने बताउनुभयो । नदी र खोलाको सफाइका लागि फोहोरको स्रोतलाई सुधार गर्नुपर्ने सुझाव समेत उहाँले दिनुभयो ।
बाग्मती सफाइ अभियन्ता राजु अधिकारीले तारजाली राखेर बाग्मती नदीलगायत यसका सहायक खोलाहरूको सफाइ गर्न सकिएको बताउँदै यसका लागि सरकारसमक्ष माग राखी सकिएको जानकारी दिनुभयो ।
निश्चित ठाउँमा राखिएको तारजालीमा ठोस फोहोर जम्मा भई त्यसको सङ्कलनका लागि नदी र खोलामा पानीको प्रवाह तीब्र हुनुपर्ने भए पनि काठमाडौँको नदी खोलाको पानी प्रवाह त्यस अनुसारको नभएको उहाँले बताउनुभयो ।
बाग्मतीको ठोस फोहोरलाई सहज रूपमा सङ्कलन तथा व्यवस्थापन गर्नका लागि यसअघि तिलगङ्गामा तारजाली जडान गरिए पनि यो अभियान सफल हुन नसकेको उहाँको अनुभव छ ।
अर्का बाग्मती सफाइ अभियन्ता ताराबहादुर कुँवरले २९९औँ हप्तासम्म बाग्मती सफाइ महाअभियान नियमित रूपमा सञ्चालन गरिए पनि त्यसले आशातित सफलता प्राप्त हुन नसकेको बताउँदै बागमती सफाइका लागि तारजाली राखेर ठोस फोहोर सहज रुपमा सङ्कलन तथा व्यवस्थापन गर्न सकिने जानकारी दिनुभयो । एक ठाउँमा तारजाली राख्न बढीमा तीन टन फलाम लाग्न सक्ने अनुमान गरिएको छ ।
धार्मिक, सांस्कृतिक धरोहर र काठमाडाँैंको सम्भताको रूपमा रहेको बाग्मती नदीलाई सफाइ गरी पुनः पहिलेकै अवस्थामा फर्काउन केही वर्षयता सरकार र निजी क्षेत्रबाट विभिन्न प्रयास भएका छन् ।
सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गठन गरी बागमतीलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ ।
विगत पाँच वर्षदेखि हरेक शनिवारको बाग्मती सफाइ अभियानले बाग्मतीको भौतिक अवस्थामा अझै वान्छित सुधार हुनसकेको छैन । २०७० जेठ ५ गतेदेखि बाग्मती सफाइ अभियान नियमित रुपमा सञ्चालन हुँदै आएको र यो शनिबार तीनसय हप्ता विशेष कार्यक्रम गरी मनाउने तयारी भइरहेको छ ।
gorkhapatara


