मोहसिन अलि मियाँ/गोरखा
माघ २४ गते । गोरखा नगरपालिका ११ सिर्दिटोलका शिव शर्मा पन्थलाई गाउँका घर निर्माणको काममा भ्याईनभ्याई छ । ६ बर्ष मलेशियामा काम गरेर फर्केका पन्थ अहिले घर निर्माणको ठेक्का लिन्छन् । भूकम्प गएको पछिल्लो साल घर फर्केका उनि गाउँमै मनग्य आम्दानी हुन थालेपछि विदेशको मोह हराउदै गएको बताउछन् । ‘मलेशियाबाट छुट्टीमा आएको हो, अहिले सोच्दा बेक्कार विदेश गइएछ भन्ने लाग्छ’ पन्थ भन्छन् ‘जहाँ गएनि दुःख त गर्नै परिगो, दुःख गरे पैसा गाउँमै छ ।’
मलेशियामा ६ बर्षसम्म सेक्युरिटी गार्डको काम गरेका उनि २०७३ मंसिरमा घर फर्केका थिए । घर फर्केको केहि दिन मै गाउँमा घर बनाउने तालिम लिने अवसर आयो । छुट्टीको सदुपयोग गर्दै गैरसरकारी संस्थाले दिएको तालिम लिएका उनलाई त्यसपछि त विदेश फर्कन मन लागेन । ‘कारितास नेपाल भन्ने संस्थाले गाउँमै आएर अर्धदक्ष तालिम दिदैछ भन्ने थाहा पाएँ, म छुट्टी आएको मान्छे, घरमा खाली नै थिएँ, ५० दिनसम्म तालिममा गएँ’ उनले थपे ‘त्यसपछि त मन नै चेन्ज भयो, विदेश फर्कन मन लागेन, घर मै बसेर परिवार पाल्न सक्छु भन्ने मनमा आँट आयो ।’
तालिम सकेर बसेका पन्थलाई त्यसपछि त कामको हर्जो नै भएन । गाउँभरी सबैका घर लडेका थिए । उठाइदिने कामदारको अभाव थियो । उनि सम्झन्छन् ‘तालिम सकेको भोलीपल्टैबाट गाउँका मान्छे घरमै काम पु¥याउन आउँथे, पहिला यो बिषयमा कत्ति पनि आइडिया थिएन, तालिममा सिकेका कुरालाई फिल्डमा लगाउन थाले, अहिले २ बर्ष भयो खाली बस्न परेको दिनै छैन ।’
२ बर्षअघि अरुले ठेक्का लिएको घरबाट काम सुरु गरेका उनि अहिले ठेकेदार बनेका छन् । लेबर हुदै अहिले उनि मिस्त्री भइसकेका छन् । ‘पहिला राम्रो बनाउनेतिर ध्यान जान्थ्यो, अहिले बलियो बनाउनेतिर ध्यान जान्छ’ पन्थले भने ‘आजभोली गाउँका घर ठेक्का लिएर आफैले घर बनाउन थालेको छु, पहिला अरुकोमा काम गर्न जान्थे, अहिले काम लगाइदिनुप¥यो भन्दै अरु आउछन् ।’ ६ बर्षसम्म विदेशमा पाएको दुःख सम्झदा उनलाई अहिले ब्यर्थ लागेको छ । भन्छन् ‘अर्काको देशमा काम गर्दा साह्रै पिडा सहनुपर्ने, दुःख पनि त्यस्तै ।’
२ बर्षको अन्तरालमा उनले गाउँका २० वटा घर बनाइसकेको बताउछन् । बार्षिक ३ लाख भन्दा बढि आम्दानी गर्ने गरेका उनलाई परिवारसंगै बसेर काम गर्न पाउन निक्कै आनन्द लागेको छ । ‘काम गर्न लाज मान्न भएन, दुख गरे पैसा याही हुने रहेछ’ पन्थले थपे ‘अहिलेसम्म २० वटा घर बनाइसके, सन्तुष्ट छु ।’


