मोहसिन अलि मियाँ/गोरखा
सरकार असंवैधानिक तरिकाले अघि बढेको भन्दै गोरखामा नेपाली काँग्रेसले बिरोध प्रदर्शन गरेको छ । पार्टी कार्यालय तिनधारेबाट सुरु भएको विरोध जुलुश जिविसचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै काँग्रेसका जिल्ला उपसभापति सुकदेव दुवाडीले ओली नेतृत्वको सरकारले दुई तिहाईको दम्भ देखाएर एक पक्षिय रुपमा अघि बढ्न खोजेको आरोप लगाएका छन् ।
पछिल्लो समय सरकार नै भ्रष्ट्राचारमा लिप्त भएर संरक्षकको भुमिकामा रहेको बताउदै दुवाडीले अब काँग्रेस चुप लागेर नबस्ने बताएका छन् ।
त्यस्तै जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले सरकार निरंकुश हुदै गएको भन्दै आफुहरु सडकमा उत्रिन बाध्य भएको बताए । केपि ओली प्रधानमन्त्री भएसंगै देशमा हत्या, हिंशा र कालोबजारी, मुल्यबृद्धि बढेको बताउदै उनले देश उखान टुक्काले नचल्ने बताएका छन् । ‘देश उखान टुक्काले चल्दैन, देश चलाउन विवेक चाहिन्छ, बिचार र भिजन चाहिन्छ’ काँग्रेसका जिल्ला सचिव न्यौपानेले भने ‘यो बिरोध काँग्रेसको मात्रै होइन, यो सारा नेपालीको हो ।’ नेपालको कुनै उल्लेखनीय सम्बन्ध नरहेको देश भेनेजुयलाको राजनीतिक घटना क्रममा सत्तारुढ पार्टीका अध्यक्ष र सरकारको विज्ञप्ति अपरिपक्व रहेको उनको भनाई छ ।
चिकित्सा शिक्षा विद्ययकमा डा. गोविन्द केसीको माग नसमेटिएको, निर्मला पन्तको बलत्कारी र हत्यारालाई अहिलेसम्म कारबाही नगरेको, सरकारकै संरक्षणमा कालोबजारी मौलाएको, मुल्य बृद्धि, लगायतको बिरोध गर्दै काँग्रेसले सदरमुकाममा बिरोध प्रदर्शन गरेको जनाएको छ ।
सभालाई सम्बोधन गर्दै पूर्व जिल्ला सचिव किरणबाबु श्रेष्ठले सरकार जनता ठग्ने काममा अग्रसर भएको आरोप लगाएका छन् । दुई तिहाईको दम्भमा सरकारले मनलाग्दी गरेको भन्दै अब काँग्रेस सुतेर नबस्ने उनले बताए ।
सत्तारुढ दलले निशेधको राजनिति सुरु गरेको बताउदै श्रेष्ठले वाइडवडी खरिद प्रकृयामा भएको भ्रष्ट्राचारमा सरकार नै संलग्न रहेको बताएका छन् । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले आफुहरुलाई सरकारी पक्षबाटै जनताको काम गर्न अवरोध रहेको बताएका छन् । आफुहरुले ल्याएको योजना सरकारले मनलाग्दी रुपमा फेरबदल गरिदिदा आफुहरुले जनताको पक्षमा सोचेअनुसार काम गर्न नपाएको उनको भनाई छ । देशमा अराजकता बढ्दै गएको बताउदै काँग्रेस नेता दवाडीले सरकारले बेलैमा नसोचे ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
त्यस्तै सभामा बोल्दै गण्डकी प्रदेश सभा सदस्य मनकुमारी गुरुङले अहिलेसम्म काँग्रेसले सरकारलाई सहयोग गरिरहेको भएपनि उपेक्षा गरेर अघि बढेको भन्दै असन्तुष्टी ब्यक्त गरेकी छिन् । काँगे्रस राणा शासनदेखि राजासम्म फाल्न सक्ने पार्टी रहेको भन्दै कमजोर नठान्न उनले चेतावनी दिएकी छिन् । सदरमुकाममा भएको बिरोध जुलुसमा काँग्रेस कार्यकर्ताले सरकार विरुद्ध नारावाजी समेत गरेका छन् ।
नेविसंघको मसाल जुलुसमा प्रहरी हस्तक्षेप
सरकारको कामप्रति असन्तुष्टी जनाउदै नेपाल विद्यार्थी संघ गोरखाले गरेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । गोरखा बसपार्क देखि हरमटारीसम्म निकालेको जुलुसका क्रममा प्रहरीले संघमा अवद्ध विद्यार्थीलाई धरपकड गरेको जिल्ला अध्यक्ष सुवास अधिकारीले बताए । मसाल जुलुस सहित नाराबाजी गर्दै जिविसचोक आइपुगेका विद्यार्थीलाई प्रहरीले रोक्न खोजेपछि केहिबेर अवस्था असामान्य बनेको थियो । शान्तिपूर्ण ढंगबाट जनताले विरोध गर्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले कोण सभा गरेर सरकारी ज्यादतीको बिरोध गरेका थिए ।




















