चितवन — नेपाली कांग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले वाइडबडी खरिद प्रकरणमा भन्दा पनि ठूलो भ्रष्टचार बुढीगण्डकी जलविद्युत आयोजनामा भएको बताएका छन् । कांग्रेसले सरकारको विरोधमा ७७ रै जिल्लामा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रम अन्तर्गत सोमबार नारायणगढमा भएको कार्यक्रममा बोल्दै नेता शर्माले यस्तो भनाइ राखेका हुन् ।
‘बुढीगण्डकी आयोजना आफैले बनाउने भनेर पेट्रोल किन्दा जनताले प्रति लिटर पाँच रुपैयाँ बुझाएको छ । तर वर्तमान सरकारले त्यो आयोजना आफैंले बनाउनुको साटो चिनियाँ कम्पनीलाई जिम्मा लगायो । यसो किन गरियो ? यहाँ वाइडबढी विमान खरिदमा भन्दा पनि ठूलो घोटला भएको छ,’ शर्माले भने । उनले धुर्मुस सुन्तलीले अर्बौं उठाएर रंगशाला बनाउन सक्ने सरकारले जनताको पैसा सुदपयोग गर्न किन नसक्ने भनेर प्रश्न गरे ।
‘धुर्मुस पनि झापाका म पनि झापाको । अस्ति काठमाडौंमा यो रंगशाला बनाउने घोषणा कार्यक्रममा उनले मलाई पनि बोलाएका थिए तर जान सकिनँ । प्रधानमन्त्री पनि झापाकै, उहाँ जानु भएको थियो । अरुले सोधेनन्, मैले भने सोध्थे जनताबाट पैसा उठाएको सरकारले बुढीगण्डकी किन बनाउन सकेन भनेर,’ शर्माले सुनाए । वाइडबडी खरिदमा सुक्ष्म अनुसन्धान हुनु पर्ने र कांग्रेसकै कोही मुछिए पनि कारवाही हुनु पर्ने उनले बताए ।
डाक्टर गोविन्द केसीको मुद्दा अब कांग्रेसले उठाउने उनले बताए । ‘हिजो ४८ सालमा राज्यको ढुकुटीमा १२ अर्ब रुपैयाँ हुन्थ्यो, मेडिकल शिक्षामा सरकारले मात्रै सबै गर्नु पर्छ भन्न सकिँदैन थियो । अब त्यो अवस्था रहेन, यो राज्यको हुनु पर्छ,’ शर्माले भने ।
kantipur


