नरेन्द्र ढकाल/गोरखा
माघ २१ गते । रत्नराज्य लक्ष्मी मावि बिरेनचोकमा प्रधानाध्यापक नियुक्तिको विषय भएको विवाद उच्च राजनिति तहमा पुगेको छ । विद्यालय व्यवस्थापन समितिले सरला देवकोटालाई हटाएर तेजबहादुर नेपालीलाई प्रधानाध्यापक बनाएपछि चुलिएको विवाद समाधान हुन नसकेको हो । ‘राजनितिक दलको हस्तक्षेप छ यसमा, समाधानको जिम्मा पनि दलका ठुल्ठुला नेताहरु र संगठनलाई नै दिएका छौं’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर आलेले भने ‘हामी साना मानिसहरुको पहुँचले केही नहुने देखियो ।’
राजनितिक स्वार्थको आडमा अभिभावकलाई उक्साएर प्रधानाध्यापक चयन गरेको भन्दै बिरोध भएपछि झण्डै १५ दिन यता त्यहाँको शैक्षिक गतिविधि ठप्प छ । एकै संगठनमा आवद्ध दुई शिक्षकहरुलाई नेकपाका दुई गुटका नेता कार्यकताले प्रयोग गरेपछि विवाद समाधानको विषय पेचिलो बनेको हो । उक्त विवाद मिलाउनका लागि शिक्षक महासंघले आवश्यक सहयोग नगरेको विद्यालय व्यवस्थापन समितिले आरोप लगाएको छ । नियम निकाय नगर शिक्षा शाखा पनि समस्या सुल्झाउनुको सट्टा रमिते बनेर बस्दा समस्या झनै चुलिएको अभिभावकहरुको गुनासो छ । ‘नगरपालिका शिक्षा समितिले पनि हस्तक्षेप गरेको छ’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आलेले भने ‘उहाँहरु पनि मिलाउनुको सट्टा केही शिक्षकहरुलाई संरक्षण गरेर बस्नु भएको छ ।’
यता नगर शिक्षा शाखाका प्रमुख भरतकाजी अर्याल समेत उक्त समस्याको राजनितिक तहबाटै हल खोज्नु पर्ने प्रतिक्रिया दिएका छन् । ‘नगर शिक्षा शाखाले मात्र समस्या समाधान गर्ने अबस्थामा यो समस्या छैन’ अर्यालले भने ‘यो टप लेभलको राजनितिक विषय बनिसकेको देखिन्छ ।’ प्रधानाध्यापक देवकोटा माथि दुब्र्यवाहार भएको भन्दै त्यहाँ कार्यरत १२ जना शिक्षकले गोरखा नगरपालिकाको शिक्षा शाखामा हाजिर गर्दै आइरहेका छन् । बिहान विद्यालय समयमा नगरपालिका जाने, हाजिर गरेर फर्कने उनीहरुको दिनचर्या नै बनेको छ । ती शिक्षकहरुलाई नगरपालिकाले संरक्षण गरेको अन्यले आरोप लगाएका छन् । ‘यसलाई संरक्षण त भनि हाल्न मिल्दैन’ शिक्षा शाखा प्रमुख अर्यालले भने ‘उहाँहरु समस्या लिएर आउनु भयो । सुरुमा हाजिर गराउने भन्ने कुरा भयो तर अहिलेसम्म समस्या समाधान भएको छैन । अब तपाइँहरु जानुहोस भन्ने अबस्था पनि छैन ।’
तेज बहादुर नेपालीलाई प्रअ बनाउनु पर्छ भन्ने पक्षका अन्य १० जना शिक्षकले अहिले विद्यालयमा पढाईरहेका छन् । एसईई परीक्षा नजिकिँदै गरेका बेला पूर्व तयारी गर्नुपर्ने समयमा विद्यार्थीको पढाई प्रभावित भएको छ । अहिले विद्यालयमा रहेका १० जना शिक्षकले प्रावि तह धाने पनि माध्यामिक तहमा पढाउने अधिकाशं सुरक्षाको कारण देखाउदै नगरपालिकामा हाजिर गरिरहेका छन ।
उक्त विवादका सन्र्दभमा शिक्षकहरुको छाता संगठन शिक्षक महासघं समेत रमिते बनेको कतिपयको आरोप छ । तर उक्त कुरा महासंघ मान्न तयार छैन । ‘हामीले पहल नगरेको भन्दै होइन’ शिक्षक महासघंका नगर अध्यक्ष पुरुषोतम भट्टराईले भने ‘उहाँहरु आआफ्नो अडानमा हुनुहुन्छ ।’ शिक्षकहरुको काम पढाउने भएकाले प्रअको विषयलाई लिएर आन्दोलन गर्नु गलत भएको उनले बताए । ‘हामीले उहाँहरुलाई विद्यालय गएर पढाउनुहोस, विद्यार्थीको मन जित्नुहोस भनेका छौं’ भट्टराईले भने ‘प्रअ नियुक्तिको आफ्नै प्रक्रिया छ त्यो दोश्रो चरणमा हुन्छ ।’ नगरपालिकाको शिक्षा शाखा र विद्यालय व्यवस्थापन समितिले कसलाई प्रअ बनाउने भन्ने निक्यौल गर्नुपर्ने उनको भनाई छ ।
हाल रहेको विद्यालय व्यवस्थापन समितिलाई नगरपालिकाले अनुमोदन नगरेका भन्दै उक्त समितिले गरेको निर्णय मान्य नहुने केही शिक्षकको अडान छ भने अभिभावकले असक्षम ठहराएपछि देवकोटा प्रअको कुर्चीमा बस्न नहुने अर्का पक्षले तर्क गरिरहेको छ । उक्त विषयलाई छिनोफानो गर्नुको सट्टा नियम निकाय र राजनितिक दलहरु सबै रमिते बनेका छन् । जसले गर्दा एसइई र वार्षिक परिक्षाको तयारी गरेको विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ ।




















