मोहसिन अलि मियाँ/गोरखा
माघ २१ गते । साविकको घैरुङ्ग गाविसकी सिताकुमारी श्रेष्ठलाई पानी लिन ताक्लुङ्ग जानुपर्ने बाध्यता छ । शहिद लखन गाउँपालिका ६ मकैपुरे चौतारा घर भएकी उनको सवेरै ४ बजे उठेर पानी लिन जाने बर्षौदेखिको दैनिकी नै हो । घर वरीपरि पानीको मुहानसम्म पनि नभएपछि पानी लिन साविकको ताक्लुङ्ग गाविसमा रहेको झ्याँडी धारा जानुपर्ने उनिहरुको बाध्यता बन्दैआएको छ । ‘घर घैरुङ्गमा छ, पानी लिन ताक्लुङ्ग जानुपर्छ’ श्रेष्ठले भनिन् ‘बिहान ४ बजे उठेर गएपछि एकैचोटी ८ बजे घर आइन्छ ।’
१५ घरधुरी रहेको मकैपुरे चौतारामा सिताकुमारीको मात्रै होइन सबैको दैनिकी उस्तै छ । सबेरै उठेर एक गाग्री पानीका लागि छिमेकी गाविस पुग्दा दोस्रो दर्जाको ब्यवहार खप्नुपर्दा झनै उनिहरुलाई थप पिडा हुन्छ । ‘पानी लिन गयो, यिनिहरु किन आका होलान् जस्तो गर्छन, पालो पनि उनिहरुले थापेपछि मात्रै आउछ’ सोही स्थानकी ५५ बर्षिया विष्णुमाया गुरुङ्गले भनिन् ‘त्याहा नगए अन्त जाने ठाउँ छैन, गए ब्यवहार सहिसाध्य हुदैन ।’
स्थानीय निकायको चुनाव ताका गाउँमा आएका सबै उम्मेदवारहरुको मुख्य एजेण्डा नै खानेपानी ल्याइदिने बनाएका थिए । तर झण्डै २ बर्ष बित्यो उनिहरुको समस्या जिउका तिउ छ । ‘सबैले एक बर्षभित्र खानेपानी ल्याइदिन्छु भनेर बाचा गरेका थिए, अहिले २ बर्ष हुन लाग्यो मुख देखाउन नि आउदैनन् ।’ स्थानीय मेजरमान श्रेष्ठले भने ‘यिनिहरुका फुर्ति पनि देखियो, हामी बारम्बार वडा र गाउँपालिका धाएका धायै छौ, हुन्छ हुन्छ मात्रै भन्छन् ।’
पिउन मात्रै होइन सरसफाई तथा अन्य प्रयोजनका लागि चाहिने पानी पाउन त झनै उनिहरुलाई कठिन छ । ‘खानेपानी लिन मात्रै झ्याँडी धारा जाने हो, नुहाउन, लुगा धुन त्याहा दिदैनन्’ श्रेष्ठले भने ‘नुहाइधुवाई गर्न त डेढ घण्टाको बाटो हिडेर दोन्द्रे खोला पुग्नुपर्छ, बाटो जंगलै जंगल, एक्लै जान सक्ने अवस्था पनि हुदैन, २/३ हप्ताको लुगा थुपारेर सबै एकै चोटी जाने गरेका छौ ।’
यता वडाध्यक्ष दिलिप नारायण थापा भने आयोजना निर्माणको काम भइरहेको दावी गर्छन् । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको सहयोगमा गतबर्षदेखि घैरुङ्ग करङ्ग खोला खानेपानी आयोजनाको निर्माणको काम अघि बढेको वडाध्यक्ष थापाको भनाई छ । ‘हामीले काम गरिरहेका छौ, खानेपानी कार्यालयको १ करोडमा अघिल्लो बर्ष नै काम सुरु भएको हो’ उनले भने ‘उहाँलाई हामीले निर्माणको काममा श्रमदान गर्न बोलाउदा पनि आउनुभएन, तिनमाने लिफ्टिङको पानी खाने हो भन्नुहुन्छ ।’
प्राविधिक इष्टमेटमा करिब ८ करोड लाग्ने अनुमान गरिहेको सो आयोजनाका लागि यस बर्ष गण्डकी प्रदेश सरकारले ४० लाख रकम बिनयोजन गरेको वडाध्यक्ष थापाको भनाई छ । उनि भन्छन् ‘काम धमाधम भइरहेको छ, उहाँहरुलाई आवस्यक भए यै आयोजनाको पानी पु¥याउन सकिन्छ, तर सहयोग त गर्नुपरयो नि ?’




















