नरेन्द्र ढकाल/गोरखा
माघ १८ गते । गोरखा नगरपालिकाले पूर्वाधार बिकासका कार्यक्रममा नगद सहभागितलाई जोड दिएको छ । सडक, खानेपानी, ढल निकास जस्ता पूर्वाधार बिकासको काम गर्दा अनिवार्य रुपमा नगद सहभागीता कायम गरिएको हो । ‘परम्परागत मोडलबाट बिकास हुन्छ भन्नु व्यर्थ छ । विगतमा हामीले धेरै अभ्यास गरेयौं तर आशातित उपलब्धी हासिल हुन सकेन’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘जबसम्म नागरिकलाई जिम्मेवार बनाउन सकिदैन तबसम्म बिकासको फड्को मार्न सकिदैन भन्ने हाम्रो निष्कर्ष हो ।’
सोही अनुरुप नगरपालिकाले पाँच लाख भन्दा बढिका अधिकाशं योजनामा प्रकृती र जनताको उत्साहका आधारमा २० देखि ५० प्रतिशतसम्म लागत सहभागी जुटाएको छ । त्यस्ता योजनाहरुमा नगरपालिकाले तयार गरेको लगत स्मेटमा आधारमा उपभोक्ताले केही प्रतिशत रकम व्यहोर्नु पर्दछ । ‘५ लाख भन्दा कमका योजनाहरुमा श्रमदान मार्फत नै जनसहभागिता जुटाउने हो, त्यस माथिका योजनाहरुमा अनिवार्य रुपमा २० प्रतिशत नगद सहभागीता गराउने पर्ने हामीले नियम बनाएका हौं’ उनले भने ‘उपभोक्ताको सहभागीता र लगानीमा मात्र काम गर्ने हाम्रो उदेश्य हो ।’
त्यसको अलवा गोरखा नगरपालिका भित्रका नागरिकले आफूले केही रकम जुटाएर नगरपालिकामा बजेट माग गर्ने हो भने योजनाको प्रकृति हेरेर प्रतिशतका आधारमा बजेट व्यवस्था गर्न सकिने नगर प्रमुख पन्तले बताए । ‘टोल बस्तीमा केही रकम जुटाएर बिकास निर्माण गर्ने चाहना कसैले राख्नु भएको हुन सक्छ’ उनले भने ‘त्यस्तो अबस्थामा ५०–५०, ४०–६०, ३०–७० कति प्रतिशत बजेट उपलब्ध गराउन सकिन्छ, योजना र कार्यक्रमको प्रकृती हेरेर हामी लगानी गछौं ।’
गत वर्ष सडक ढलान गर्ने, नाली निर्माण, खानेपानी आयोजना निर्माण जस्ता पूर्वाधार बिकासका अधिकाशं योजनाहरु नगद सहभागीताका आधारमा निर्माण गरिएको गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले जानकारी दिए । ‘गत वर्ष देखि अहिलेसम्म भएका धेरै योजनाहरु उक्त मोडलमै बनेका छन’ उनले भने ‘संघसस्था मार्फत गरेका काममा पनि अनिवार्य नगद सहभागीता कायम भएको छ ।’ गोरखा नगरपालिका भित्र कारितास नेपालले गरेका काममा समेत नगद सहभागी गराइएको उनको दाबी छ ।
यस वर्ष पनि अधिकाशं योजनाहरु उक्त मोडलमै बनाउने नगरपालिकाले तयारी गरेको छ । जनश्रमदानको काम प्रभावकारी नभएको, सरकारी योजनालाई उपभोक्ताले अपन्त्व नलिएको, बनेका संरचना दिगो हुन नसको लगायतका कारणले यो बिधि अपनाईएको नगर प्रमुख पन्तको भनाई छ । ‘यो विधिले धेरै कुरा राम्रो भएको छ । सबै भन्दा ठूलो कुरा उपभोक्तालाई अपन्त्व कायम गराउन हामी सफल भएका छौं’ उनले भने ‘जसले निकै ठुलो सकारात्मक परिर्वतन दिएको छ ।’ साझेदारीमा काम गर्दा नगरपालिकाको बजेट सदुयोग हुने भएकाले थोरै रकमले धेरै योजना निर्माणमा मद्दत पुग्ने उनको विश्वास छ । ‘जस्तो हामीले कुनै योजनाका लागि १० लाख रकम छुट्यौं त्यसमा २० प्रतिशत नगद सहभागीता जुटाइयो भने त्यहाँ २ लाख पब्लिकबाट जुटेको रकम हुन्छ’ उनले भने ‘उक्त रकम प्लस गर्दा कुल बजेट १२ लाख हुन जान्छ, यसले योजनाको भोलुम पनि बढ्छ ।’
यो विधिमा विकास निर्माणको काम गर्दा जनता प्रत्यक्ष सहभागी हुने भएकाले काम समयमै सम्पन्न गर्न र चुवावट कम गर्न पनि मद्दत पुग्ने विश्वास लिइएको छ । स्थानीयको समेत लगानी परेका संरचनाहरु गुणस्तरिय साथै दिगो समेत हुने नगरप्रमुख पन्तको तर्क छ । ‘आफ्ना घर अगाडीको सडकलाई जतन गर्ने, खानेपानीलाई जतन गर्ने दायित्व स्वम् नागरिकको नै हो’ उनले भने ‘जब उहाँहरुको आर्थिक लगानीमा ती संरचना बनेका हुन्छन् भने त्यसको हेरचाह र संरक्षण झनै बढि हुन्छ ।’ यो विधि जनघन्त्व बढि भएका शहरी क्षेत्रमा बढि प्रभावकारी हुने देखिएको छ ।


