नरेन्द्र ढकाल/गोरखा
माघ १५ गते । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा.हरिराम पराजुलीले नेपालको पुर्ननिर्माण संसारकै नमूना भएको दाबी गरेका छन् । गोरखा समाचारसँग कुराकानी गर्दै उनले भूकम्प पछि विश्वका कुनै पनि देशमा यति छिटो पुर्ननिर्माणको काम नगरेको तर्क गरेका हुन् । ‘पाकिस्तानमा यस्तो सस्था डिजल्प हुँदा खेरि ४० प्रतिशत भन्दा बढि स्कूल बन्न बाँकी थियो’ उनले भने ‘हामी कहाँ यो प्राधिकरण बनेको ३ वर्ष भयो अहिले सम्म ४ हजार भन्दा बढि स्कूल बनिसकेका छन । यो चानेचुने संख्या हुँदै होइन ।’
प्राधिकरण बने पछि पनि झण्डै ६ महिना नीति नियम र कार्यविधि निर्माणमा खर्च भएको भन्दै उनले छोटो समयमा धेरै काम भएपनि प्रचार हुन नसकेको दाबी गरेका छन् । नेपालमा सञ्चारमाध्यमले नकारात्मक कुराहरु मात्र लेख्ने गरेकाले बास्तविकता बाहिर नआएको उनको तर्क छ । ‘यो भारत वा अन्य देशको तुलनामा राम्रो हो’ उनले भने ‘४ हजार भन्दा बढि स्कूल बनेका छन् ३ सय किलोमिटर भन्दा बढि बाटो निर्माण हुने क्रममा छ’ उनले भने । सडक निर्माणको प्रगती पनि नियमित सडक विभागबाट हुने भन्दा राम्रो भएको उनको दाबी छ ।
निजि आवास अनुदान तर्फको काम पनि सन्तोजक भएको उनले बताए । ‘अहिले सम्म ७० प्रतिशत भन्दा बढिले दोश्रो किस्ता लिइसकेका छन’ उनले भने ‘घर बनाउन सुरु नगरी दोश्रो किस्ता लिन मिल्दैन, नचाइनेले बनाउन सुरु गर्दैन । सरकारी भवनको पनि राम्रो प्रोग्रेस छ । प्राइभेट पनि ७० प्रतिशत भनेको नराम्रो होइन ।’ केही संख्यामा गुनासो रहेको, ६० हजार संझौता हुन बाँकी रहेको, १५ हजार सुकुम्बासी लगायतको अझै केही संख्यामा घर बन्न बाँकी रहेको उनले बताए । ‘बाँकी रहेका छिटपुटहरु हामीले सम्पन्न गर्नु जरुरी छ’ उनले भने ‘त्यसको लागि हामीसँग अझै २ वर्ष समय छ । त्यति बेला सम्म सबै सम्पन्न हुन्छ ।’


