मोहसिन अलि मियाँ/गोरखा
माघ १४ गते । आउदो कक्षा ८ को परिक्षामा होम सेन्टर नहुने भएको छ । जिल्लामै पहिलो पटक गोरखा नगरपालिकाले नगरक्षेत्रभित्रका विद्यालयहरुमा होम सेन्टर हटाउने भएको हो । परिक्षालाई ब्यवस्थित र मर्यादित बनाउने उदेश्यले नगरपालिकाले यस बर्षदेखि नगरक्षेत्रमा ७ वटा केन्द्र तोकेर परिक्षा लिने तयारी गरेको छ । ‘यसअघि १० कक्षाबाट मात्रै यो प्रणाली लागु हुन्थ्यो, अब हामी ८ बाटै सुरु गर्दैछौ’ नगरप्रमुख राजनराज पन्तले भने ‘यसले परिक्षामा प्रभाव पार्ने तत्वको न्यूनिकरण हुन्छ भन्ने हाम्रो अपेक्षा हो ।’
लामो समयदेखि कक्षा ८ को परिक्षालाई जिल्ला स्तरिय भनिएपनि सो अनुसार परिक्षा संचालन नभएकाले नगरपालिकाले पहिलो पटक यसको प्रयोग गर्न लागेको जनाएको छ । यसले परिक्षामा निष्पक्षता र चुस्तदुरुस्त गराउन सहयोग पुग्ने कार्यालयको विश्वास छ । ‘हामी विश्वस्त छौ, यो प्रयोग पूर्ण रुपमा सफल हुनेछ, यसले परिक्षालाई स्तरीकृत गर्छ’ नगरप्रमुख पन्तले थपे ‘हामी ८ कक्षालाई जिल्ला स्तरिय भन्छौ तर यसको प्रयोग खै, कसरी जिल्ला स्तरिय भयो भन्ने त ?’
अघिल्लो बर्षसम्म नगरक्षेत्रका सबै ३१ विद्यालयमा कक्षा ८ को परिक्षा सम्बन्धित विद्यालयले आफै गराउदै आएका थिए । तर यस बर्षदेखि भने सो प्रणाली हटाएर ७ केन्द्र तोकी परिक्षा लिने कार्यालयले तयारी गरेको छ । ‘हिजोका दिनमा एसइइ परिक्षादेखि मात्रै यो प्रयोग हुन्थ्यो, यसले साच्चै परिक्षालाई मर्यादित बनाउछ’ गोरखा नगरपालिकाको शिक्षा शाखा प्रमुख भरतकाजी अर्यालले भने ‘यो बर्षदेखि केन्द्र तोकेर सिमित विद्यालयबाट मात्रै हामी परिक्षा लिदैछौ, यसले एसइइको तयारी र अभ्यस्त पनि गराउने छ ।’
स्थानीय तह नबन्दासम्म शिक्षा कार्यालयले प्रश्नपत्र बनाउने र स्रोत केन्द्रमा उत्तरपुस्तिका चेकजाँच गर्ने चलन थियो । तर मावि तहसम्मको अधिकार स्थानीय तहमा आएपछि भने प्रश्नपत्र बनाउने, उत्तरपुस्तिका संकलन, चेकजाँचका साथै नतिजा समेत नगरपालिकाबाटै हुने गरेको छ । नगरपालिकाले यो प्रयोग अघिल्लो बर्षदेखि नै गरेपनि होम सेन्टर भने यसबर्षदेखि मात्रै हटाउन लागेको हो । जसकालागि कार्यालयले आसपासका विद्यालयलाई हेरेर सबैलाई पायक पर्ने स्थानमा केन्द्र तोकको छ । आगामी फाल्गुन २९ गतेदेखि चैत ८ गतेसम्म संचालन हुने कक्षा ८ को परिक्षामा यस बर्ष नगरक्षेत्रबाट १ हजार ४ सय १ विद्यार्थी सहभागी हुने शिक्षा शाखा प्रमुख अर्यालले बताए । जसमध्ये मनकामना बहिरा माविका १२ जना फरक क्षमता भएका विद्यार्थी समेत परिक्षामा सहभागी हुनेछन् ।
गोरखा नगरपालिकाले तोकेको परिक्षा केन्द्र यसप्रकार छ ।



