नरेन्द्र ढकाल/गोरखा
माघ १४ गते । पुर्ननिर्माणको काम प्रभावकारी बनाउन स्थानीय तहहरुले प्रयास सुरु गरेका छन् । पुर्ननिर्माण प्राधिकरणले स्थानीय तहलाई अधिकार प्रत्यायोजन गरेसँगै सिरानचोक गाउँपालिकाले निजी आवास पुनर्निर्माण कार्यविधि २०७५ निर्माण गरेको छ । ‘खास मस्कत भनेको घर बनाउन बाँकी भूकम्प पिडितलाई कसरी उत्पेरित गर्ने ? कुन–कुन मापदण्ड अपनाएर घर बनाउन लगाउने भन्ने हो’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने ‘जसको कारणले हामी छिटो भन्दा छिटो घर बनाउन सकौं ।’
सोही अनुरुप भारत सरकारद्धारा सञ्चालित ‘निजी आवास पुनर्निमाण परियोजना’ गोरखाको प्राविधिक सहयोगमा तयार पारिएको ‘निजी आवास पुनर्निर्माण कार्य विधि २०७५’ गाउँ कार्यपालिकाको बैठकले पास गरेको छ । ‘हाम्रो गाउँपालिका अझै २५ प्रतिशत भूकम्प पिडितले घर बनाउनु भएको छैन’ उनले भने ‘बाँकी रहेको पुर्ननिर्माणको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल गर्दा यो ऐनको आवश्यकता महशुस भएको हो ।’
उक्त कार्यविधिमा लाभग्राहीले पुनरावेदन गरेको उपर संतोषजनक जवाफ नआएको खण्डमा गाउपालिकाले वडा कार्यालय मार्फत वास्तविक भुकम्प पिडीत लाभग्राहीको लागी मुद्धा आफै लड्ने रणनिती अवलम्बन गरिएको छ । वास्तविक लाभग्राहहिरुको पुन सर्वेक्षण गर्न प्राधिकरण र जनप्रतिनिधको संयुक्त अगुवाईमा कार्य अगाडी बढाउने बताइएको छ । यस्तै, एउटै लाभग्राहीको दुई ठाउँमा नाम समावेश भएकोले एक ठाउँबाट कट्टा गरी जुन ठाउँबाट पहिलो किस्ता लिएको साही ठाउँमा कायम गर्ने कार्य विधिमा उल्लेख गरिएको छ । ‘वडा नम्बर १ केरावारी र ७ श्रीनाथकोटमा केही डाटाहरु आएको छ’ उनले भने ‘उहाँहरु मध्ये कसैले काठमाण्डौमा, गोरखामा अनुदान बुझ्नु भएको छ । तर सिरानचोकमा पनि उहाँहरुको नाम लाभग्राही सुचिमा छ ।’
त्यस्ता लाभग्राहीको पहिचान गरि तथ्याङ्क अध्यावधी गर्ने काम तयारी गरिएको छ । कतिपय व्यक्तिले पहिलो किस्ता बापतको ५० हजार लिएर अहिले सम्म सम्र्पकमा नआएको समेत गाउँपालिकाले बताएको छ । यसैगरी वास्तविक लाभग्राहहिरुको पुन सर्वेक्षण गर्न पुर्ननिर्माण प्राधिकरण र जनप्रतिनिधको संयुक्त अगुवाईमा कार्य अगाडी बढाउने कार्यविधिमा उल्लेख छ ।
सिरानचोकमा ७० प्रतिशत भन्दा बढि पुर्ननिर्माण काम सम्पन्न भएको अध्यक्ष गुरुङको दाबी छ । ‘पुर्ननिर्माण गर्नुपर्ने लाभग्राहीको संख्या घटाउनु पर्ने छ’ उनले भने ‘घर नबनाउने २५–३० प्रतिशतलाई कसरी तल झार्ने भन्ने उदेश्यले यो बनाइएको हो ।’ उक्त कार्यविधिले बाँकी काम सम्पन्न गर्न सजिलो हुनेका साथै सूचना प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास गाउँपालिकाको छ । सोका लागि सूचनाको ढाँचा समेत बनाईको छ । ‘वडा कार्यालयले अब सूचना टाँस गरेर उहाँहरुलाई बोलाउनु हुन्छ’ उनले भने ‘घर नबनाउनले वडा कार्यालयमा आएर निवदेन दिनुहुन्छ । त्यहीँ निवेदनका आधारमा हामी उहाँहरुको नाम कटौती गछौं ।’
६ हजार ८१९ लाभग्राही रहेको सिरानचोकमा ८९५ घरधुरीको प्रवलीकरण अनुदानका लागि प्रक्रिया अगाडी बढाइएको छ । गुनासो सुनुवाई हुन नसकेकाहरुको पुर्नसर्वेक्षण गराउने, सरकारले दिएको भूकम्प पिडित परिचयपत्र नपाएकाहरुको, कार्ड पाएर पनि नाम नसिकेकाहरुको विषयमा पनि विशेष संबोधन गर्ने उनले बताए ।
उक्त कार्यविधिको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईले प्रशंसा गरेको युनडिपी÷ ओडि आरसीको संयोजक ईन्जिनियर नबिन जोशी जानकारी दिए । पुर्ननिर्माणको कामलाई प्रभावकारी बनाउन सरकारी तथा गैरसकारी सस्थाहरु विचको समन्वयलाई थप प्रभावकारी बनाउने कुरालाई पनि जोड दिएको उनले बताए । कार्यविधि ल्याउनु पूर्व गाउँपालिका अध्यक्ष राजु गुरुङको अध्यक्षतता तथा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख रामशरण आर्चायको प्रमुख आतिथ्यतामा सरोकारवालाहरु विच छलफल समेत गरिएको थियो ।


