गोरखा समाचारदाता
माघ १३ गते । गोरखा जिल्लाको प्रमुख प्रवेशद्धार मझुवा देउरालीमा गोरखा गेट बन्ने भएको छ । पृथ्वीराजमार्गबाट गोरखा प्रवेश गर्ने मझुवा देउरालीको मस्र्याङ्दी पुल नजिकै बन्ने उक्त गेटको शुक्रबार गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले शिलन्यास गरेका हुन् । ‘गोरखा आउने पाहुनाहरुलाई स्वागत् गर्न हामीले प्रवेशद्धार बनाउन लागेका हौं’ गेटको शिलन्यास पछि बोल्दै उनले भने ‘जिल्ला प्रवेश गर्ने वित्तिकै यसले गोरखाको झलक देओस भन्ने हाम्रो अभिप्राय छ ।’
करिब १ करोड लागतमा निर्माण सम्पन्न भइसक्ने उक्त गेट निर्माणका लागि पहिलो चरणमा ६० लाख बजेट विनियोजन गरिएको छ । त्यसले भौतिक संरचना निर्माण हुने बताइएको छ । भौतिक संचना बनेपछि जिल्लाको पहिचान झल्कने खालका विभिन्न सामाग्री र सुचनाहरु उक्त गेटमा राख्ने नगरपालिकाको तयारी छ । ‘त्यो खाली गेट मात्र होइन, गोरखाको इतिहास र परम्पराका झल्काउने खालका कुराहरु हामी गेटसँगै राख्छौं’ उनले भने ‘त्यहाँ गोरखाका चिनारी, महत्वपूर्ण जानकारी समेत राखिने छ ।’ भौतिक पूर्वाधार निर्माणको काम सकेपछि सजावटका लागि नगरपालिकाले दोश्रो चरण ठेक्का लगाउने इन्जिनियर प्रकास ढकालले जानकारी दिए । ‘यो गेटमा दुई वटा द्धार हुन्छ एउटा आउने र अर्को जाने’ उनले भने ‘त्यसको दायाँ बायाँ दुई वटा कोठा बनाईन्छ र त्यहाँ जिल्लाका महत्वपूर्ण सूचना, गोरखा नगरपालिकाको प्रोफाईल लगायतका विभिन्न कुराहरु राखिने छ ।’
सुुसु इन्जिनियरिङ एण्ड कन्सट्रक्सन प्रालिले निर्माण गर्ने उक्त गेटको भौतिक संरचना चैत्र सम्म सक्ने लक्ष्य छ भने अन्य सजावटको काम पनि यही आर्थिक वर्ष भित्र हुने गोरखा नगरपालिकाले जनाएको छ । गेट गोरखाको परम्परा झल्कने खालको परम्परागत इट्टा र झिगटीको छानाले बनाइने इन्जिनियर ढकालले जानकारी दिए । त्यहाँ तत्कालिन राजा पृथ्वी नारायण शाहको मुर्ति पनि राखिनेछ । शिलन्यास कार्यक्रम पछि मेयर पन्तले तोकिएको समय भित्र काम सम्पन्न निर्माण व्यवसायीलाई समेत आग्रह गर्नुभएको छ । उक्त गेट गोरखा र तनहुँको सिमानामा रहेको दरौदी पुल नजिकै मजुवा देउरालीमा बनाउन लागिएको हो ।


