नरेन्द्र ढकाल/गोरखा
माघ १३ गते । बिकास निर्माणका काममा हुने ढिला सुस्ती मान्य नहुने गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले बताएका छन् । भूकम्पपछि गोरखाको सिरानचोक गाउँपालिकामा केयर नेपाल, एकिकरण नेपाल र स्वाँरा सघन गाउँबिकास केन्द्रले गरेका कामको स्वामित्व गाउँपालिकालाई हस्तान्तरण गर्दै उनले यस्तो बताएका हुन् । ‘ठेकदारहरु बेपता छन, निर्माणको जिम्मा लिएको ठाउँमा आएका छैनन, विभिन्न बाहानाबाजी भइरहेको स्थीति छ’ उनले भने ‘यो कुरा प्रदेश सरकारलाई राम्रेरी थाहा छ ।’
मुलक अब समृद्धीको यात्रा अघि बढि सकेकाले निर्माण व्यवसायीको नाममा हुने ढिला सुस्ती मान्य नहुने उनले बताएका छन । ‘चाहे बाग्लुङको अस्पताल बनाउने कुरा होस, चाहे लम्जुङको पुल बनाउने कुरा, चाहे गोरखामा लोहनीजीहरुले जिम्मा लिएका सडकका कुरा हुन,’ उनले भने ‘ यसमा प्रदेश सरकार गम्भिर छ । ढिला सुस्ती गर्नेहरुलाई छाड्दैन भन्ने कुरा अब निर्माण व्यवसायीले बुझ्नु जरुरी छ ।’ काममा ढिलाई भएको ठाउँमा खबरदारी गर्न स्थानीयलाई समेत उनले आग्रह गरेका छन । मुलकमा अहिले राजनितिक स्थिरता कायम भएको भन्दै गण्डकी प्रदेशका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले जनताको भावना माथि खेलबाड गर्ने अधिकार कसैलाई नभएको बताए । ‘यो दुई चार महिनामा ढल्ने सरकार होइन, चाहे सघं होस, प्रदेश या स्थानीय तह’ उनले भने ‘यही सरकारले मुलकमा भष्ट्राचारको अन्त्य गर्छ, शुसाशन दिन्छ, समृद्धि ल्याउँछ ।’
प्रदेश सरकारले जनताका आवश्यकता र चाहना अनुसार विभिन्न योजनाहरु अगाडी सारेको दाबी गर्दै उनले गण्डकी प्रदेशलाई देशकै नमूना बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । यहाँका जनताको आर्य आर्जनमा सहयोग गर्ने खालका घरेलु तथा साना उद्योग सञ्चालनको प्रक्रिया अगाडी बढाएको उनले बताएका छन् । ‘हिजो हामीले गाउँमा ठेकी बनाउँथौं, हसिया बनाउँयौं अहिले छोड्यौ, हामीलाई अत्यावश्यक सामानहरु पनि उत्पादन हुन छोड्यो’ उनले भने ‘त्यसलाई पुनः सञ्चालन गर्ने हाम्रो योजना छ ।’ गण्डकी प्रदेशले मुख्य चार वटा कुराहरु, पर्यटन, जलस्रोत, कृषि र उद्योगलाई प्राथमिकतामा राखेर योजनाहरु निर्माण गरेको उनको भनाई छ । सोही अनुरुप ४०० वटा होमस्टे सञ्चालन गर्ने, गण्डकी प्रदेश प्रदेशका सबै ठाउँमा विद्युत पु¥याउन, सडक सञ्जालले जोड्ने, कृषिमा आत्मनिर्भर बनाउने, विद्युत उत्पादनमा तिब्रता दिने, व्यवसायीक कृषि र पशुपालनलाई जोड दिने लगायतका कार्यक्रम निर्माण गरिएको उनले बताए ।
सरकारले मात्र जनताका आवश्यकताहरु पुरा गर्न नसक्ने भन्दै उनले भूकम्प पछि जस्तै अब पनि विकास निर्माणका काममा सहयोग गर्न गैरसरकारी सस्थाहरुलाई आब्हान गरेका छन् । ‘गैर सरकारी सस्थाहरु बिकासका साझेदार हुन, हामी मिलेर काम गर्न चाहान्छौं’ उनले भने ‘अब पूर्वाधार बिकासका काम लिएर आउनुहोस् हामी कहाँ के सहयोग गर्न पर्छ तयार छौं ।’
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु गुरुङले केयर नेपाल, एकिकरण नेपाल र स्वाँरा सघन गाँउबिकास केन्द्रका साझेदारीमा भएका गरेका काम, पुर्ननिर्माणको अवस्था, गाउँपालिकाका विकास निर्माणका गतिविधि लगायतका बारेमा जानकारी गराएका थिए । सोही अवसरमा केयर नेपाल, एकिकरण नेपाल र स्वाँरा सघन गाउँबिकास केन्द्रको साझेदारीमा सञ्चालित भुकम्प पुर्न लाभ कार्यक्रम अन्र्तगत १५ भन्दा बढि खानेपानी आयोजना, २ वटा स्वास्थ चौकी भवन, दुई वटा वर्थिङ सेन्टर, ५ भन्दा बढि मोडल हाउस, कृषि उपज संकलन केन्द्र, गरिब तथा विपन्न समूदायको घर निर्माणका लागि भएको सहयोग, सिञ्चाइ आयोजना निर्माण, विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको लगायतको स्वामित्व गाउँपालिकाहरुलाई हस्तान्तरण गरिएको केयर नेपालका गोरखा प्रमुख माधव ढकालले जानकारी दिए ।
स्वाँरा सघन गाउँबिकास केन्द्रका कार्यकारी निर्देशक सिताराम श्रेष्ठको अध्यक्षता तथा मन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. हरिराम पराजुली महिला समूहकी प्रतिनिधी कौसिला लामिछाने, सहकारी प्रतिनिधि काजीबाबु घिमिरे, उपभोक्ता समितिका तर्फबाट ईश्वरी प्रसाद ढकाल, वडा नम्बर ५ अध्यक्ष सन्तोष गुरुङ, एकिकरण नेपालकी सचिव दुर्गा गुरुङ, केयर नेपालका साझेदार सस्थाका प्रतिनिधिहरु लगायतले मन्तव्य राखेका थिए ।




















