नरेन्द्र ढकाल/गोरखा
माघ १३ गते । भूकम्प गएको ४ वर्ष हुन लाग्दा समेत भूकम्प स्मृती पार्कको निर्माणले पूर्णता पाएको छैन । लामो विवाद पछि सुरु भएको निर्माण कार्य पनि निकै सुस्त देखिएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्यवन इकाई (भवन)ले दिएको जानकारी अनुसार उक्त पार्कको हालसम्म ३० प्रतिशत मात्र भौतिक प्रगती भएको छ ।
भूकम्पको ज्यान गुमाउनेहरुको सम्झनामा केन्द्रविन्दु बारपाकमा स्मृती पार्क निर्माणका लागि सरकारले १३ करोड, ६ लाख ३४ हजार बजेट विनियोजन गरेको थियो । शहरी आवास तथा भवन डिभिजन मार्फत लगत स्टमेट गरी निर्माण सुरु भएको उक्त पार्कको हालसम्म २८ प्रतिशत मात्र वित्तिय प्रगती भएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाई भवनले दिएको जानकारी अनुसार पार्क निर्माणका लागि अहिले सम्म ३ करोड ६६ लाख ५० हजार रकम खर्च भएको छ । उक्त पार्कको भूकम्प गएको एक वर्ष पुगेका दिन २०७३ बैशाख १२ गते राष्ट्रपती विद्यादेवी भण्डारीले शिलन्यास गरेकी हुन् । सरकारले भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा केन्द्रविन्दु बारपाकमा भूकम्प स्मृती पार्क र संग्राहालय बनाउने घोषणा गरेपनि स्थानीयले जग्गा उपलब्ध नगराएपछि संग्राहालय भने नबन्ने भएको छ ।

२०७२ बैखाश १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर विनाशकारी भूकम्प गएको थियो । भूकम्पले गोरखामा मात्र ४७२ जनाको ज्यान जानुका साथै देशभर हजारौं नागरिकको मृत्यु भएको थियो । भूकम्पले लाखौं व्यक्ति घरवार विहिन हुनका साथै करोडौंको भौतिक सम्पती नष्ट भएको थियो । त्यसैको सम्झनामा केन्द्रबिन्दु बारपाकमा उक्त पार्क बनाउन लागिएको हो ।


