गोरखा समाचारदाता
माघ १३ गते । भाषा आयोगले गोरखा नगरपालिका भित्र बोलिन भाषाहरुको अध्ययन गरेको छ । आयोगको नियमित कार्यक्रम अनुसार सिमान्तकृत कुमाल समुदायको बसोबास रहेको गोरखा नगरपालिकामा कुमाल भाषालाई आधार मानेर यहाँ बोलिन सबै भाषाहरुको सर्वेक्षण गरिएको हो । ‘त्यहाँ चाहीँ अहिले तिन वटा काम गरेका छौं’ आयोगका शाखा अधिकृत गोबिन्द निरौलाले भने ‘एउटा मातृभाषाको प्रयोग सम्भाव्यता अध्ययन, भाषाको स्तर पहिचान र विद्यालयमा भाषिक नक्शाङ्कन कामलाई हामीले मुख्य जोड दिएका हौं ।’
तिन वटै विषयमा छुट्टाछुट्टै विधि अपनाएर नगरपालिकाका सबै वडाहरुको भाषिक सर्वेक्षण गरिएको छ । अहिले सर्वेक्षणको सकेर आयोगले त्यसलाई व्यवस्थित गर्ने काम सुरु गरेको उनले बताए । ‘मुख्य मेरुदण्ड कुमाल भाषालाई मानियो तर हामीले त्यहाँ बोल्ने सबै भाषाको अध्ययन गर्छौ’ उनले भने ‘रिर्पोट कस्तो आउँछ त्यसपछि यहाँ मातृ भाषाको अबस्था कस्तो रहेछ थाहा हुन्छ ।’
सर्वेक्षणको रिर्पोट आएपछि विज्ञहरुसँग छलफल गरी प्रतिवेदन तयार गर्ने र सरकारलाई बुझाउने उनले बताए । उक्त प्रतिवेदनले गोरखा नगरपालिका भित्र रहेका भाषाहरुको आधिकारिक तथ्याङ्क सार्वजानिक गर्ने आयोगको दाबी छ । ‘आयोगलाई सरकारले जुन जिम्मेवारी सुम्पेको छ सोही अनुसार हामीले काम सुरु गरेका छौं’ उनले भने ‘७५३ वटै स्थानीय तहमा राष्ट्रिय भाषाको अध्ययन गर्ने हाम्रो योजना छ सोही अनुरुप अहिले गोरखामा गरिएको हो ।’ उक्त अध्ययन पछि गोरखा नगरपालिका भित्र बोलिने भाषाको संरक्षण र प्रवद्र्धन गर्न सहयोग पुग्ने भाषा आयोगको ठहर छ । जसले गर्दा स्थानीय भाषामा पाठ्क्रम तयार गरी कक्षा सञ्चालन गर्न समेत मद्दत पुग्ने उनले बताए । ‘हामीले रिर्पोट सार्वजानिक गरेपछि त्यसको फाइन्डिङको आधारमा गोरखा नगरपालिकाले कुमाल भाषाको पाठ्यक्रम बनाउन सक्छ’ उनले भने ‘अन्य भाषाका बारेमा काम गर्न पनि रिर्पोट आधार बन्छ ।’
यसैगरीको अयोगकै पहलमा बारपाक सुलिकोट गाउँपालिकामा बराम भाषा प्रशिक्षण समेत भइरहेको छ । बराम भाषाको वक्ता कम भएको भन्दै त्यहाँ ३ महिने भाषा प्रशिक्षण कक्षा सञ्चालन गरिएको उनले बताए । ‘त्यहाँ बराम भाषा बोल्न सिकाइन्छ’ उनले भने ‘बराम भाषामा वक्ता बढाउनु नै त्यसको मुख्य उदेश्य हो ।’ नेपालका संविधानले देश भित्र बोलिने सबै भाषालाई राष्ट्र भाषाको रुपमा व्याख्या गरेकाले ती भाषाहरुको संरक्षण र प्रवद्र्धनका लागि स्वतन्त्र आयोग गठन गरिएको र त्यसले सोही अनुसार काम गरिरहेको उनले बताए । ‘भाषाहरुको खोजि गर्ने, भाषाको अबस्था कस्तो छ ? कुन भाषाको व्याकरण छ, कुन भाषाको वर्ण छैन, कुन भाषाको लिपी छैन’ उनले भने ‘यी कुराहरुको प्राथामिक चरणबाट हामी खोजी र अनुसन्धान गर्ने काममा लागेका छौं ।’


