दिपक श्रेष्ठ/गोरखा
माघ ९ गते । उत्तरी गोरखामा गएराती देखि भारी हिमपात भएको छ । हिमालपारीको गाउँ भनेर चिनिने जिल्लाको उत्तरी सिमानामा पर्ने सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पार, लगायतका ठाँउमा भारी हिमपात परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।
‘छेकम्पार लार्के सामागाँउ लगायतका क्षेत्रमा ३ फिटसम्म हिउ जमेको भन्ने जानकारी आएको छ’ उहाँले भन्नुभयो चिसोका कारण स्थानिबासीहरु घरबाट बाहिर निस्कन समेत सकेका छैनन ।’ गएराती देखि परेको हिमपात अहिले पनि जारी रहेको प्रहरी नायव उपरिक्षक नेपालले जानकारी दिनुभयो ।
उत्तरी गोरखाका करिव २ हजार ५ सय मिटर उचाइ भन्दा माथिका क्षेत्रमा हिमपात भएको हो । हिमपातका उत्तरी गोरखाको अधिकांस क्षेत्रका बासिन्दाहरुको जनजिवन प्रभावित भएको छ । अघिल्लो बर्षको तुलनामा यसबर्ष उत्तरी गोरखामा ढिलो गरी हिमपात भएको स्थानियबासीले बताएका छन् । ‘अत्याधिक हिमपात भएपछि स्थानियहरु घरभित्र आगो तापेर बस्न बाध्य छन्,बाहिर निस्कन सक्ने अबस्था छैन।’ चुमनुव्री गाउँपालिका–६ चुम्चेतका सेराप गुरुङले भन्नुभयो ।
हिउँले मनासलु हिमाल आसपासका क्षेत्र पुरै ढाकेको स्थानियको भनाई छ । अत्याधिक हिमपातका कारण अस्थायी टहरामा बस्दै आएका भुकम्प पिडितहरुले भने सास्ती खेप्नु परेको छ । अघिल्लो बर्षहरुमा कात्तिक लाग्ने बित्तिकै हिउँ पर्ने गरेको भएपनि यसबर्ष ढिलो गरी हिउपरेको स्थानियले बताएका छन् ।




















