दिपक श्रेष्ठ/गोरखा
माघ ९ गते । गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दुवाडीले सांसद भए बापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्नुभएको छ । सांसद दुवाडीले सपथ ग्रहण गरेदेखि अहिलेसम्म प्राप्त रु ७ लाख ३० हजार ३ सय १५ रुपैया सामाजिक क्षेत्रमा खर्च गर्नुभएको हो ।
गोरखा क्षेत्र नम्बर २ अन्र्तगत प्रदेशसभा (ख) बाट निर्वाचित हुनु भएका साँसद दुवाडीले तलबभत्ता बापतको रकम मोटरबाटो निर्माण, एम्बुलेन्स खरिद, बिभिन्न महिला समुहलाई भवन निर्माणका लागि र्खच गरेको जानकारी दिनुभयो । त्यस्तै ३ ओटा बिधालयलाई बिधालय सन्चालनका लागि समेत रकम प्रदान गरेको उहाँले बताउनुभयो ।
नेपाल प्रेस युनियनले गोरखाले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारबाट तलबभत्ता बापत प्राप्त रकममा थप ४ लाख ९० हजार ९ सय ५ रुपैया थपगरी एक बर्षको अबधीमा कुल १२ लाख २१ हजार २ सय २० रुपैया आफ्नो निर्वाचन क्षेत्रमा खर्च गरेको जानकारी दिनुभयो ।
‘मैले निर्वाचनमा जिते लगत्तै सांसद भए बापत आफुले पाउने सेवासुबिधा बिकास निर्माणका खर्च गर्छु भनेर प्रतिबद्धता जनाएको थिए,’ उहाँले भन्नुभयो, ‘मैले सेवासुबिधा व्यक्तिगत खर्च गर्नु मनासिव ठानिन।’ जनताले दिएको अमूल्य मतबाट निर्वाचित भएकाले सरकारबाट पाउने सेवासुबिधा पनि जनताकै लागि खर्च गर्न पाउदा खुशी लागेको पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।
सांसद दुवाडीले आफ्नो पेशा व्यवसायबाट हुने नाफाको कम्तीमा ५ प्रतिसत रकम समेत समाजसेवा खर्च गर्ने बताउनुभयो ।‘मेरो पेशा व्यवसाय पनि छ जसले मलाई राजनीति मार्फत जनतको सेवा गर्न सजिलो भएको छ’ उहाँले भन्नुभयो, व्यापार व्यवसायबाट हुने नाफाको ५ प्रतिसत रकम समाजसेवामा खर्च गर्दै आएको पनि छु र आगामी दिनमा पनि खर्च गर्नेछु ।’




















