नरेन्द्र ढकाल/गोरखा
माघ ९ गते । सार्वजानिक शौचालय प्रयोग गरे वापत धेरै ठाउँमा शुल्क लिने गरिन्छ । तर गोरखाको १२ किलोमा भने जंगलमा दिशा पिसाब गरेको पनि पैसा तिर्नु पर्छ । गोरखा आँबुखैरनी सडकको १२ किलोमा रहेको सार्वजानिक शौचालय भत्किएको छ । ढोका नलाग्ने, दिशा पिसाव र अन्य पात पतिङ्गर शौचालयको प्यान बुझिएको छ । जसका कारण सो क्षेत्र भएर यात्रा गर्ने सर्वसाधरणले सालघारीमा गएर दिशा पिसाव गर्नुपर्ने बाध्यता छ । ‘चर्पी यस्तो फोहोर छ बाहिरै पिसाव गर्नुपर्छ’ १२ किलोमा भेटिएका सन्तोष पोखरेलले भने ‘यसको पनि पैसा लिदो रहेछ, यो त सिधै ठग्ने काम भएन र ?’
शौचालय जानबाटो ढुकेर बसेका स्थानीय सुरज थापाले दिशा गरे बापत १० र पिसाव गरेको ५ रुपैयाँ पैसा लिने गरेका छन् । १२ किलो बजार व्यवस्थापन समितिले आफूलाई काम लगाएको उनले बताए । ‘मलाई यहाँ पैसा उठाउन राखेका हुन’ उनले भने ‘दिन भर जम्मा भएको मध्ये सय रुपैया समितिलाई बुझाउनु पर्छ ।’
खुल्ला ठाउँमा दिशा पिसाव गरे बापत रकम लिइएको बारे आफूलाई केही जानकारी नभएको गोरखा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष रामबहादुर खड्काले बताए । ‘त्यो शौचालय काम नलाग्ने भएको छ । धेरै भयो प्रयोग हुन पनि छोडेको’ उनले भने ‘कसले शुल्क उठाएको हो हामीलाई जानकारी छैन ।’ सो क्षेत्रका केही मानिसको मिलेमतोमा ती व्यक्तिले दैनिक रकम संकलन गरेर जाँड रक्सी खान खर्च गर्ने गरेको अन्यले आरोप लगाएका छन् ।




















