गोरखा समाचारदाता
पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सुलिकोट गाउँपालिकाको टेण्डर प्रक्रियालाई लिएर ट्वीट गरेका छन् । केही दिन अघि त्यहाँ पुगेका उनले गाउँपालिकाका परिसरको तस्विर सहित सामाजिक सञ्जालमा आफ्नो धारणा पोष्ट गरेका हुन् । ‘सडक निर्माणको टेण्डर हाल्ने दिन गाउँपालिका अफिस युद्ध मैदान जस्तो पो देखियो ! गापा प्रमुख र कर्मचारीहरु भित्र कोठामा बाहिरबाट साँचो लगाएर बस्ने; टेण्डर हाल्ने डनहरु बाहिर तयारीमा बस्ने; पुलिसको टुकडी पोजिसन लिएर बस्ने; अनि कसरी गुणस्तरिय निर्माण होस ? भष्टाचारको जरो किन गाउँगाउँमा नपुगोस् ?’
उनको अभिव्यक्तिलाई लिएर देश तथा विदेशमा बस्ने सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । उक्त कुराले गाउँपालिका नै तरङ्गित भएको छ । मंगलबार बारपाक सुलिकोट गाउँपालिकाले एक विज्ञप्ती समेत जारी गरेको छ । ‘बारपाक सुलिकोट गाउँपालिकाको मिति २०७५/३/१० गते बसेको गाउँसभाबाट पारित आव २०७५/०७६ का योजनाहरु मध्ये मुख्य ७ वटा (घ्याम्पेशाल देउराली सडक, झाँक्रिचोक धारापानी देउराली वहाकोट सडक, उल्टे भालुस्वाँरा पाल्खु सडक, थानीथान रनचोक कुलगाउँ सडक, चनौटे पाल्खु सडक) ठेक्का प्रक्रिया सम्पन्न उक्त दिन टेण्डर हाल्ने मिति तोकिएको थियो’ अध्यक्ष विष्णु भट्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
त्यस दिन कार्यालय वरपरको क्रियाकलापहरुलाई र दृष्यहरुलाई लिई विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको टिप्पणी प्रति गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तीमा सूचना प्रविधिको उच्चतम् प्रयोग गरी सेवाप्रवाह गर्ने मनासय हुँदाहुँदै पनि इन्टरनेटको समस्या, भौगोलिक दुर्गमता, दक्ष र तालिम प्राप्त कर्मचारीको अभाव, सस्थागत क्षमता कमजोर भएका कारण इविड मार्फत ठेक्का प्रक्रिया गर्न नसकिएको उल्लेख गरिएको छ । संभावित अप्रिय घटना हुन नदिन सुरक्षाको माग गरी आवश्यक सुरक्षाकर्मी खटाएको गाउँपालिकाले विज्ञप्ती मार्फत स्पष्ट पारेको छ ।




















